Logo

प्रमुख समाचार

पल शाहको बाटो अब कता ?



अभिनेता पल शाह वा पूर्ण विक्रम शाह नेपालको जल्दाबल्दा अभिनेता हुन् । कामबाट फुर्सद नपाउने कलाकारको रुपमा चिनिन उनलाई थुप्रै वर्ष सिने जगत मा संघर्षको पाठ घोक्नुपरेको थियो । जब उनले संघर्षको पाठ घोकेर पानी बनाए तबमात्र उनी सिने जगतमा बग्न थालेका हुन् । सयौँ म्युजिक भिडियोमा काम गरेका पलले चलचित्रमा भने “नाइँ नभन्नू ल ४” बाट मात्रै हात हालेका हुन् । यसपश्चात् उनले धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

कुरा गरौँ उनको बाल्यकालको, दाङको घोराहीको रामपुरमा जन्मिएका पल शाहको पारिवारिक पृष्ठभूमि सामान्य नै रहेको पाइन्छ । एसलएसीसम्मको पढाइ दाङमा पूरा गरेका पल सम्पादक बन्ने सपना बुनेर काठमाडौं प्रवेश गरेका हुन भन्ने हल्ला बजारका अनलाइनले धेरै पहिलेबाट नै गर्दै आइ नै रहेका छन् ।

तर, उनी मोडलिङसँग जोडिए । यद्यपि, उनका बुवा खुसी थिएनन् । पलका बुवाको सपना छोरो सेकेन्ड लेफटिनेन्टबाट मेजरसम्म बनाउने थियो । बुवाको सपना तोडेर यस क्षेत्रमा लागेका पललाई कहिल्यै पछाडि फर्किनु परेको छैन । यति भनिरहँदा भने अब के हुन्छ ? भन्ने विषय गाह्रो छ । किनकि उनलाई जबरजस्ती करणीको मुद्धा परेको केही समय भइसकेको छ । यस विषयले पनि समाजिक क्षेत्रमा भने राम्रो चर्चा पाएको छ । यो विषय सतहमा आउनासाथ उनका सर्मथक तितरबितर पनि भएका छन् । सर्मथक नै नभएपछि आफूले गरेको कामको के अर्थ रहला र ?

गायिका समीक्षा अधिकारी पल शाहको चर्चा केही दिनबाट यता चर्किएको हो । तर सुरुका दिन पनि हल्ला बजारमा व्याप्त थियो ।

भएको के हो ?
केही महिना अघि कलाकारिता क्षेत्रमा एउटा विषयले निकै चर्चा पायो । त्यो कुरा थियो अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धको बारेमा । सञ्चारमाध्यममा समाचार आउनेदेखि चौतर्फी चर्चा हुन थालेपछि दुवैले सामाजिक सञ्जालमा स्टेटस लेख्दै स्पष्टीकरण दिएका थिए । पल र समीक्षा दुवैले आफूहरुको सम्बन्ध हल्ला फैलिएजस्तो नभएको बताएका थिए ।

त्यतिबेला समीक्षाले सामाजिक सञ्जालमा स्टेटस लेख्दै पल आफ्ना लागि अभिभावक भएको र सम्बन्धबारे चलाइएको हल्लाले मानसिक रुपमा असर पुर्याएको लेखेकी थिइन् । दुवैको स्पष्टीकरणपछि यो विवाद पनि सेलाएको थियो । तर, विवाद सेलाएको चार महिनापछि समीक्षाले त्यतिबेला गरेकोभन्दा ठीक विपरीत कुरा गरेकी छिन् । बिहीबार उनले सामाजिक सञ्जालमा आफूले त्यतिबेला लेखेको स्टेटस वास्तविकताभन्दा धेरै टाढा भएको बताएकी थिइन् ।

उनले लेखेकी थिइन् ‘म लामो केही भन्दिन् । मेरो फेसबुक वालमा लेखिएको यो स्टेटस वास्तविकता भन्दा धेरै टाढा छ’, समीक्षाले लेखेकी छिन ्। उनले कसैको अनुनयमा स्टेटस लेखेको र अब यर्थाथ खुलाउने समय आएको पनि बताएकी छिन् । उनी लेख्छिन्, ‘कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’

त्यसपछि के भयो ?

विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ । सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ । समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन्। पलले सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको समीक्षाको आरोप छ । अर्को अडियोमा पनि पल र समीक्षाको संवाद सुन्न सकिन्छ । अडियोबाट समीक्षा पलसँग बिहे नै गर्न खोजिरहेको थाहा हुन्छ । तर पल भने आफूहरु जीवनभर मिल्ने साथी रहने तर बिहे भने नगर्ने बताइरहेका छन् ।

अहिले सामाजिक संजालमा बहस भइरहेको छ कि के सार्वजनिक अडियोमा सुनिएको आवाज पल र समीक्षाकै हो ? के त्यहाँ भएका संवादहरु सही हुन् ? अडियाबारे चर्चा चुलिएपछि अभिनेता पल शाहले आज फेसबुकमा एक स्टाट्स लेखेका थिए । मिडियामा आएको समाचारमा सत्यता नभएको र आफूलाई फसाउन खोजेको उनले बताएका थिए ।

फेरि,

पटक पटक अडियो सार्वजनिक हुनेक्रममा अघिल्लो हप्ता पल शाहले पाँचवटा अडियो सार्वजनिक गरेका थिए । उक्त अडियोमा अभिनेता पल शाहलाई नियोजित ढङ्गबाट फसाउन खोजिएको देखिन्छ । आम मानिसले यही कुरा बुझे र फेरि पल शाहको समर्थनमा सर्मथक उत्रिए । तर उनीहरूले बुझेनन् कि १७ वर्षीया नाबालिका भएपछि नेपालको कानुनले जाहेरी अवश्य नै लिन्छ । तथापि सार्वजनिक भएको अडियो र त्यस अडियोमा बोलिएका भनिएका गायक दुर्गेश थापा, पल शाहको म्यानेजर तथा अन्य व्यक्तिप्रति नेपाल प्रहरीले गम्भीर भएर छानबिन गरिरहेको छ ।

साथै,

पल शाहको चर्चा भएपछि नेपाली संगीत र सिने जगतको पनि चर्चा सुरु भएको छ । यो विषयमा कसले के भने भन्ने कुरा जान्न आवश्यक रहेको छ । उक्त कुरा यसप्रकार रहेको छ ।

करिश्मा मानन्धर (अभिनेत्री)
अभिनेता पल शाहको जीवनमा अहिले जे घटना घटिरहेको छ, त्यो उनको व्यक्तिगत जीवनसँग सम्बन्धित घटनाक्रम हुन् । मेरो बिचारमा यसले फिल्म क्षेत्रसँग कुनै सम्बन्ध राख्दैन । यस्ता घटना कला क्षेत्रका मात्र होइन, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा घटिरहेका छन् । त्यसैले यस्ता घटना व्यक्तिगत हुन्छन् । हाम्रो फिल्म क्षेत्रमा गसिप बढी बन्ने भएकोले यस्ता घटनाले बढी चर्चा पाउने गरेका छन् । त्यसैले मेरो बिचारमा यो घटनाले फिल्म क्षेत्रमा केही असर पर्दैन । यो पलको निजी विषयमा हो । यसलाई व्यक्तिगत रुपमा लिन र कला क्षेत्रलाई गाली नगर्न म अनुरोध गर्दछु ।

कुनै पनि क्षेत्रमा धेरैथरिका मानिस हुन्छन् । ती मानिसको स्वभाव र बानी फरक फरक हुन्छ । एक व्यक्तिको नजरबाट पूरै क्षेत्रलाई हेर्न र गाली गर्न मिल्दैन । फिल्म क्षेत्रको विषयमा अहिले जुन टिकाटिप्पणी भइरहेको छ, त्यो गलत हो । व्यक्ति गलत भएको विषयमा अदालतले निर्णय गर्नेछ ।

रविन्द्र खड्का (अध्यक्ष कलाकार संघ)
अभिनेता पलको विषय मैले राम्रो रुपमा भने पक्कै लिएको छैन । यो विषयमा पूरै कला क्षेत्रसँग जोडेर चर्चा गर्नुभन्दा पनि व्यक्तिगत चर्चा गर्दा राम्रो हुन्छ । हरेक क्षेत्रमा यस्ता घटना घटेको हामीले बेला बेलामा देख्दै र सुन्दै आएका छौं । गाउँको एउटा मानिसले केही नराम्रो ग¥यो भन्दैमा पूरै गाउँ खत्तम भयो, त्यो गाउँका सबै मानिस नराम्रा हुन् भनेर भन्न मिल्छ र ? त्यस्तै पलको कुरामा कला क्षेत्र जोड्नु गलत हो । पहिले सहमति र पछि विवाद भएको चर्चा हो पलको । हामीले पनि त्यही बुझेका छौं । भर्खर यो केस उजुरीमा पुगेको छ । छानबिन होला, गलत÷सही त छुट्टिएला । अनिमात्र विश्लेषण गरौंला । मेरो बिचारमा यो कुराले नेपाली कला क्षेत्रमा केही असर पर्दैन र पर्नु पनि हुँदैन । कानुनी रुपमा व्यक्तिको विषयमा उजुरी परेको हो, कला क्षेत्रको विषयमा होइन । दर्शक र आम मानिसले बुझ्नु पर्ने विषय पनि यही हो ।

दयाराम दाहाल (अध्यक्ष, चलचित्र विकास बोर्ड)
यो विषयमा अहिले टिप्पणी गर्नु उचित ठान्दिनँ । यस विषयमा बढी बोलेर पनि केही अर्थ छैन । केही समय पर्खिंदा सत्यतथ्य बाहिर आउला । यो विषयले नेपाली कलाक्षेत्रमा यस्तो असर पर्छ भनेर पनि अहिलै भन्न सकिन्न । यो व्यक्तिगत विषयसँग जोडेर समग्र कला क्षेत्रको चर्चा गर्न मिल्दैन पनि । एक बोरा आलुमा एक दुईवटा कुहियो भने पूरै आलुलाई खराब भन्ने गरिँदैन, होइन र ? । अरु कुरा पछि गरौंला ।

दीपाश्री निरौला (अभिनेत्री तथा निर्देशक)
यो विषयमा बोल्ने र ? यो समग्र कला क्षेत्रको घटना होइन । यसलाई एउटा व्यक्तिको घटनाको रुपमा हेर्नुपर्छ सबैले । कलाकार त फिल्ममा हो । त्यस अगाडि ऊ मानिस हो । यो घटना एउटा व्यक्तिमा घटेको घटनाको रुपमा मैले हेरेकी छु । यसमा पूरै कला क्षेत्र जोड्न मिल्दैन । यो नहुनुपर्ने घटना हो, भयो । त्यसले यस्ता कुरो भइरहेको छ भनेर पनि देखायो । यो कानुनको दायरामा पुगेको विषय भएकोले केही बोल्न मिल्दैन । यसले समग्र कला क्षेत्र र कलाकार नराम्रो भनेर सन्देश जानुहुँदैन भन्ने मेरो धारणा छ ।

शिव परियार (गायक)
यो विषयमा अहिले केही बोल्दिनँ । यो कानुनको विषय हो । यसको अनुसन्धान भएर बाहिर आएपछि हामीलाई बोल्न सजिलो हुन्छ । अहिले यस घटनामा दुई खालका अडियो सार्वजनिक भइरहेका छन् । त्यसले पनि हामीलाई कन्फ्युज गरिरहेको छ । त्यसकारण पनि कुरो के भनेर भन्न सक्ने अवस्था छैन ।

नेपाली कला क्षेत्रमा यस्ता विषय हुनु भनेको राम्रो कुरो पक्कै होइन । यस विषयमा हामीले बिचार राख्दा ठुलो महत्व राख्छ । अनुसन्धान प्रभावित हुनसक्छ । हामीले बोलेको एक शब्दले एकातिर जाने विषय अर्काेतिर जानसक्छ । यो घटनाले घटनाका पात्र दुवै कलाकारको करियरका लागि नराम्रो भयो । त्यस्तो नभएको भए हुन्थ्यो भन्ने मेरो धारणा हो ।
पछिल्लो समय वौद्धिक जमात गीत–संगीत र फिल्म क्षेत्रप्रति आकर्षित हँुदै गर्दा यस्ता घटनाले त्यो आकर्षण घट्ने देखेको छु । यो क्षेत्रमा आफ्ना बालबच्चालाई अगाडि बढ्न हौसला दिनेहरुको अबको दिनमा कमी हुन्छ भन्ने मेरो बुझाइ हो । यो क्षेत्रमा आफ्ना सन्तानलाई लाग्न दिनु हुन्न भनेर सन्देश जान्छ कि भन्ने डर लागेको छ । यस्तो कुरा देखिनु भनेको सबै कलाकारकर्मीको इज्जत जानु हो ।

गोपाल ढकाल (हाँस्य कलाकार)
यो दुई कलाकारबीचको असमझदारीको कुरो हो । यो व्यक्तिगत विषयको रुपमा लिन्छु म । हरेक मानिसले व्यक्तिगत रुपमा गर्ने क्रियाकलाप फरक फरक हुन्छन् । अहिले सामाजिक सञ्जालमा यो विषयलाई जोडेर फिल्म क्षेत्र र कलाकारलाई गाली गर्न मिल्दैन । एक बोरा आलुमा केही कुहिएको पाइयो भन्दैमा पूरै आलुको बोरा खराब भनेर भन्न मिल्दैन । पल शाहको विषय अदालतमा पनि पुगेको छैन । त्यसैले यो विषयमा अहिले टिकाटिप्पणी नगरौं । यस विषयमा अदालतले आफ्नो निर्णय सुनाएपछि कुरा गर्दा राम्रो हो । उजुरी पर्दैमा मानिस गलत हुँदैन र उजुरी नपर्दैमा सही हुन्छ भन्ने छैन । पल फिल्म क्षेत्रको मानिस भएकोले चर्चा भएको हो । यस्ता घटना सबै क्षेत्रमा भएको देख्न सकिन्छ । गल्ती गर्नेलाई सजाय अदालतले दिने हो ।

यसैगरी यही विषयमा झापाकी पत्रकार सुनिरा मैनाली लेख्छिन्, “ पल शाहका कथाकथित समर्थकले सामाजिक सञ्जालमा प्रोपोगण्डा मञ्चाएको वाक्यांश हो ‘सहमतिमा भए यौन सम्बन्ध, विमति हुँदा बलात्कार ?’तर यस्तो कमेन्ट गर्नेले नेपालको फौजदारी कानुनको सामान्य ज्ञानको हेक्का राख्नु पर्दछ । १८ वर्ष उमेर नपुगेकी महिलासँग राखिएको यौन सम्बन्ध बलात्कार हुन्छ । यदि पल शाहले सहमतिमा यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कारनै हो । प्रेम, विवाह वा कुनै पनि बहानामा नाबालिकसँगको यौन सम्बन्ध अपराध हो । सहमति बिना श्रीमतीसँग पनि यौन सम्बन्ध राख्न पाइँदैन । श्रीमतीसँग जबरजस्ती यौन सम्बन्ध राखे त्यो वैवाहिक बलात्कार हुने नेपालको कानुनी व्यवस्था छ ।

ललाइफकाई, प्रलोभनमा पारेर वा धाकधम्की दिएर कसैसँग पनि यौन सम्बन्ध वा हिंसा गर्न पाइँदैन । त्यसमा नाबालिकासँगको त्यस्तो सम्बन्ध स्वीकार्य हुँदैन । अपराधमा संलग्न जति नै ठूलो या लोकप्रिय व्यक्तिबाट भएको भए पनि उन्मुक्ति दिनु हुँदैन । पलको डर, धम्की, आश, इज्जत र सम्मानको पर्वाह नगरी आजअगाडि आएर बोल्न हिम्मतजुटाइन्,उनको यो साहसलाई धन्यवाद दिनु पर्दछ ।
पलले पीडितसँगयौन सम्बन्ध स्वीकार गर्नुको अर्थ अपराध स्वीकार गर्नु हो । यद्यपि, उनले नाबालिकासहितका केही व्यक्तिले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै अडियो सार्वजनिक गरेका छन् । अन्य व्यक्तिले गरेको कर्म वा अपराधले पीडितले न्याय पाउने कुराबाट बञ्चित हुनु हुँदैन । अनुमति बिना अडियो रेकर्ड गर्ने मात्र होइन, त्यसलाई सार्वजनिक गर्ने पल स्वयम् पनि दोषी छन् ।”

यो लेख तयार पार्दासम्म अभिनेता प्रहरीको सम्र्पकमा आइसकेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।
एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १०:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।