राष्ट्रिय ध्वजाबाहक पानी जहाजमा, सवार गर्नै बाँकि छ
देशभित्रै सरर रेल-मार्गमा, रेल चढ्ने सपना थाँती नै छ
औधी छ, धरहराको टुप्पोबाट, समृद्ध सहर हेर्ने मन
सरकार ! म बाँच्नु छ, खै त मलाई अक्सिजन ?
स्वादमा रम्नु छ परिकार बनाइ, तिमिले जोडेको ग्याँस पाइपबाट
ठोक्नै छ सलामी तिमिलाई ईन्टरनेटमै, आफ्नै स्मार्ट सिटिबाट
हेर्न अनुहार सुखी नेपालीको, आत्तुरी भो झन
सरकार ! म बाँच्नु छ, बिन्ती मिलाइदेउन अक्सिजन ?
घुम्नै छ स्वच्छ, सुन्दर र आधुनिक मेघानगर, बिधुतिय सवारीमा
बनेरै स्वस्थ नागरिक, जिम्मेवार सरकार साथमा
हेर्नै छ तीन हजार क्षमताको सभाहलमा बसेर मन्चन
सबैभन्दा अघि बाँच्नु छ, खै त मलाई अक्सिजन ?
ए साँच्ची ! कोही मर्नु पर्दैन रे, उपचार नपाइ जनता
सुशाशनको प्रत्याभुति सबैमा, जुन हो तिम्रो प्रतिबद्धता
रोजगारबिहिनलाई भत्तामा सघाउँनुछ, खोजेरै कहाँ छन
सरकार ! म सबै रहर पूरा गर्थे, मिलाए अक्सिजन ?
स्थानीय तहमै अस्पताल, हटाउँदै असुविधा चरम
उपचारमा सहजता, आएर स्वास्थ्य बिमा कार्यक्रम
गाउनु छ तिम्रो भक्तिको गित, बढेकोमा सुबिधा झनझन
सरकार ! यि सब हेर्नलाई बाँच्नैपर्छ, खै त मलाई अक्सिजन ?
गणेश पराजुली
देवदह, रुपन्देही
प्रतिक्रिया