मायाका
बेमौसमी खेती गर्नेहरूको झुण्डले
विश्वासको व्यापार गर्नेहरूले
एउटा चिहानमा
रोपेका छन् केही फूलहरू !
चिहान
जो निदाइरहेको छ
आफ्नो छातीमा
ढुंगाको बर्को ओढेर
ऊ निदाइरहेको छ
तर खै कहाँबाट
एउटा आर्तनादजस्तो सुनिन्छ
एउटा चिच्याहटजस्तो सुनिन्छ
ढुंगाको बर्को चिरिएर चिहानको “मुटु“
चिहान बाहिर निस्किएर रुन्छ !
फूलहरू
चिहान वरिपरि
चिहानको मुटुसँगै रुन्छन्
फूल रोप्नेहरू
पर बसेर हेर्छन् र भन्छन् फूलहरू प्रेमका गीत गाउँदैछन् !
भ्रमित बाँचेका यी फूलका मालीहरू
चिहानको आधिपत्य नष्ट गरेर
फूलहरुमा हक जमाउँछन्
चिहान उसैगरी सुतिरहन्छ
चिहानको छातीमा टेकेर
फूल चुँड्न उद्धत मालीहरु विरुद्ध
फूलहरुले विद्रोह गर्छन्
अनि
गरिदिन्छन्
चिहानको छातीमा
एउटा सामुहिक आत्महत्या ।
















प्रतिक्रिया