जाग्याे मात शहादता पिरतिकाे अन्धाे बन्याे कन्दरा ।
लागिन् भाेग विलास कै लहडमा दर्वारकी मन्थरा ।।
मायापीरतिकाे अनन्त छलमा आस्था गरायाै सती ।
हाम्राे भाग्य लुटेर राज गरने धिक्कार तिम्राे मति ।।
चीयापान भयाे सखीसित अरे दुई बजे रातमा ।
दूबै सन्त महन्तले जति थिए सुम्पी दिए गाथमा ।।
चाराे खान दियाे सुटुक्क कनिका ऊडेर ऊतै गए ।
पट्टूकाे पगरी गुथेर शिरमा राम्-राम भन्ने भए ।।
धुन्धूकारि सधैं उहीँ खटनमा सत्ता र कुर्सी लिन ।
साह्रै ब्यस्त भए पुरै समयमा अर्ती र टुक्का दिन ।।
आँसू पुछ्न सकेन ढाेँगिहरुले राेईरहेका मन ।
मृतूकाे मुखमा कती-कति गए पाएन अक्सीजन ।।
कुर्सी त्याे दुइ दीनकाे टलक हाे मूटूसरी देश हाे ।
आफ्नै चीरहरण् गरेर जिउनू मर्नू बरू बेस हाे ।।
छेपाराेसरि रङ्ग फेरिरहने लाजै नमानी रति ।
यस्ताकाे गुणगान चम्चिहरुले गर्दा रहेछन् कति ।।
आशाका लहरा थिए लहरिँदा याे देश बन्ने भयाे ।
चूनेकाे बलिदानिले निमिस मै चीहान खन्ने भयाे ।।
हत्त्या भाे बलिदानकाे समयकाे तर्वार हान्याै जब ।
तिम्राे रूप कुरूप देख्न नपराेस् आँखाहरूले अब ।।
(रचयिता : यज्ञराज उपाध्याय)















प्रतिक्रिया