Logo

साहित्य

कविता : चीरहरण (छन्द शार्दूलविक्रीडित) 



जाग्याे मात शहादता पिरतिकाे अन्धाे बन्याे कन्दरा । 
लागिन्  भाेग  विलास कै लहडमा  दर्वारकी मन्थरा ।। 

मायापीरतिकाे अनन्त छलमा आस्था  गरायाै सती । 
हाम्राे भाग्य  लुटेर राज  गरने  धिक्कार  तिम्राे मति ।। 

चीयापान भयाे  सखीसित  अरे  दुई   बजे  रातमा । 
दूबै सन्त महन्तले  जति  थिए  सुम्पी दिए  गाथमा ।। 

चाराे खान दियाे सुटुक्क  कनिका  ऊडेर ऊतै गए । 
पट्टूकाे  पगरी गुथेर  शिरमा  राम्-राम  भन्ने भए ।। 

धुन्धूकारि सधैं उहीँ   खटनमा  सत्ता र कुर्सी लिन ।
साह्रै ब्यस्त  भए पुरै  समयमा  अर्ती र टुक्का दिन ।। 

आँसू  पुछ्न  सकेन   ढाेँगिहरुले   राेईरहेका  मन । 
मृतूकाे  मुखमा  कती-कति गए पाएन अक्सीजन ।। 

कुर्सी त्याे  दुइ दीनकाे  टलक हाे  मूटूसरी  देश हाे । 
आफ्नै  चीरहरण् गरेर  जिउनू  मर्नू  बरू  बेस हाे ।। 

छेपाराेसरि  रङ्ग  फेरिरहने   लाजै   नमानी   रति । 
यस्ताकाे  गुणगान  चम्चिहरुले  गर्दा रहेछन्  कति ।। 

आशाका  लहरा  थिए लहरिँदा  याे देश  बन्ने भयाे । 
चूनेकाे  बलिदानिले  निमिस मै चीहान  खन्ने भयाे ।। 

हत्त्या भाे बलिदानकाे  समयकाे तर्वार हान्याै जब । 
तिम्राे रूप कुरूप देख्न नपराेस् आँखाहरूले अब ।। 

(रचयिता : यज्ञराज उपाध्याय)
 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १९:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।