कैलाली । धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति माग गरेको छ ।
धनगढी उपमहानगरपालिकाले शुक्रबार केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको हो । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले नगरबासीको जीवन रक्षाका लागि खोप अत्यावश्यक भएकोले तत्काल खोप उपलब्ध गराउन र नसके खोप खरिदका लागि अनुमति दिन आग्रह गरेका हुन् ।
धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले पठाएको पत्रमा भनिएको छ, “कोभिड-१९ संक्रामक रोगको जोखिम नियन्त्रण, सोको रोकथाम उपचार र व्यवस्थापन गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्ने भन्दै नगरबासीबाट अत्यधिक माग तथा अनुरोध भइ आएकोले नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारको मूल्य र मापदण्ड अनुसार कोभिड-१९ भ्याक्सिन उपलब्ध गराइ दिन वा खरिदका लागि अनुमति प्रदान गर्न अनुरोध गर्दछौं ।”
देशभर कोरोना महामारीका कारण सयौंको मृत्यु भइरहेका बेला सरकारले खोप उपलब्ध गराउन सकेको छैन । केन्द्र सरकारसँग स्थानीय सरकारहरुले खोप उपलब्ध गराउन नसके खरिद अनुमति दिन आग्रह गरेका हुन् ।





















प्रतिक्रिया