छुस्स दाह्री, हँसिलो मुहार
शिरमा कालो भादगाउँले टोपी,
पहिचान युक्त झण्डा भिरेका,
लुखुर-लुखुर हिंड्ने,
सकारात्मक सोचका धनी,
सामाजिक अभियन्ता,
सृजनशील, परिवर्तनको वाहक,
मृत्युसँग लड्दा लड्दै,
दिग्विजय प्राप्त गर्छौ भन्ने,
दृढ विश्वासका बीच,
आज तिमी हार्यौ,
लाखौं युवायुवती हारे,
कस्तो निर्दयी,
युवा जगतको,
पुकार सुनेनौ,
बजरंग ढल्यो एउटा सतिसाल,
अधुरै भयो,
तिम्रो देश बनाउने सपना ।
********
तिम्रो एकै वचनले,
एउटै सूचनाले,
निस्वार्थ,
निस्फ्रिक्री स्वतन्त्र ढंगले,
लाखौं युवायुवती सडकमा निस्कन्थे,
परिवर्तनका खातिर,
बहिरो, कानो, अन्धो सरकारको विरुद्ध,
खबरदारी गर्थ्यौ,
बुलन्द आवाज उठाउथ्यौ,
अब कसले उठाउने,
त्यो रिक्तता कसले पूरा गर्ने,
उज्जवल !
तिम्रो अभाव खड्किरहने छ,
परिवर्तनका वाहक युवाहरु,
आज टुहुरा भए, विक्षिप्त छन्,
कसले निरन्तरता दिने,
तिम्रो विचार, सिद्धान्त, आदर्श,
अधुरो भयो,
तिम्रो देश बनाउने सपना ।
*********
आज नि:शब्द छु,
लाखौं लाख युवाको ढुकढुकी,
आज उज्जवल-चिर निन्द्रामा,
पत्याउनै सकिन,
हे भगवान,
हे ! उर्जाशिल युवाहरु,
शोकलाई शक्तिमा बदल,
चट्टान जस्तै मन दह्रो पारेर,
सतपात्रको पदचिह्न पछ्याउँदै,
विवेकशील साझा,
विवेक विहीन नहोऊ,
भन्दा भन्दै भक्कानियो मन,
आँसु भल्भल्ति बगिरहेछ,
एउटा असल राष्ट्रको सपुत,
अस्तायो ठिंग उभिएको त्यो शालिन पात्र,
बजरंग ढल्यो एउटा युवा,
अधुरो भयो
तिम्रो देश बनाउने सपना ।
नागार्जुन-१०, काठमाडौं ।




















प्रतिक्रिया