Logo

प्रमुख समाचार

जसपाका पालिका प्रमुख उम्मेदवारले गरे कांग्रेस उम्मेदवारलाई समर्थन



धनुषामा जनता समाजवादी पार्टी जसपाका एक गाउँपालिका प्रमुखका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

बटेश्वर गाउँपालिकामा जसपाबाट पालिका अध्यक्षका उम्मेदवार राजकिशोर महतोले कांग्रेसका पालिका अध्यक्षका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन् ।

शनिबार बिहान बटेश्वर बजारस्थित महादेवमन्दिर प्रांगणमा आयोजित कार्यक्रममा उनले कांग्रेस उम्मेदवार महतोलाई आफ्नो समर्थन रहने घोषणा गरे ।

आफूले जित्न नसक्ने अवस्थामा गठबन्धन भित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलर अनुसार आफूले काँग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको राजकिशोरले बताए ।

‘सकेसम्म गठबन्धन दलभित्र चुनावी तालमेल गर्ने, सो गर्न नसकेको अवस्थामा गठबन्धन भित्रकै अलि बलियो पार्टीलाई समर्थन गर्ने गठबन्धनको सर्कुलर छ, राजकिशोरले भने, ‘त्यही अनुसार मैले कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको हुँ ।

उनले अब पालिका प्रमुख र उपप्रमुखमा कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न जसपाका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । आफूलाई समर्थन गरेपछि कांग्रेस उम्मेदवार रामअशिषले राजकिशोरलाई धन्यवाद ज्ञापन गरे । अब मेरो जीत सुनिश्चित भयो, उनले भने ।

पार्टीको अवस्था बलियो,मतदाताको सहानुभूति र त्यसमा पनि जसपा उम्मेदवार राजकिशोरको समर्थनले अब आफू फराकिलो मत अन्तरले जित्ने दाबीसमेत उनले गरे।

कार्यक्रममा कांग्रेस धनुषाका निवर्तमान सचिव सन्तोष यादव, कांग्रेसका बटेश्वर गाउँपालिका सभापति रामचन्द्र महतो, नेता बासुलाल महतो र जसपा नेता महाजन यादव, रामनरेश महतो लगायतको उपस्थिति थियो । जसपाले पालिका प्रमुख पदमा मात्रै उम्मेदवारी दर्ता गरेको थियो।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ५ : ४५ बजे