Logo

साहित्य

राउटे चेली नाउँमा (कविता)



जङ्गलको प्रकृतिमा
रमाईरहेका
ए प्राकृत सन्तानहरू हो !
नजाउ शहर तिर
अचेल जङ्गलका हिंस्रक जनावरहरू
बग्रेल्ती शहरमा
घर चितुवा भएर पालिएका छन !

फेरिएको छ जनावरको नाम
नव संभ्रान्त भई
लिएर बलात्कारको लाइसेन्स
शहरकै रेष्टुरेन्ट र बारहरूमा
चर्छन व्वासाहरू
तिम्रो जङ्गल भन्दा पनि असुरक्षित छन
शहरका गल्लि,चोक

स्याल बस्ने गद्दी बैठक !

जङ्गललाई अविकसित ठान्नेहरू
समाज सुधारक भएका छन
राउटे र राउटेका नाममा
खेती गर्नेहरू
विकसित मानिएका छन
राउटे चेलीको चिरहरण हेरेर
रमिते भएको छ समाज
शहर कथित बाघ र सिंहको
शिक्षित र  बिकसित समाज भएको छ

दुख्दैन यो शहरलाई
तिमी बलात्कृत हूँदा  पनि
तिमी वनकी चरी वनैमा सुरक्षित थियौ
बिस्वास गरेर सहरलाई जंगल नछोडेको भए हुने
शहर तिम्रोलागि हुँदै होइन
शहर त तिम्रो लागि
र धेरै चेलिबेटीको लागि
शोषणको शहर भएको छ
बलात्कारिहरूको शहर भएको छ

मौसम जङ्गल मै छ
नियम,कानुन जङ्गल मै छ
सिंहको आदेश छ
थकालीको मर्यादा छ
रात दिन सबै प्रहर सुरक्षित छ जङ्गल
शहर त छाडा छ
अचेल छद्मभेषी सिकारी र
वन कुकुरहरू दिनदहाडै
शहर बसेर फूलहरूमा निशाना ताक्छन्
बलात्कार गरेर मेट्छन भोक र प्यास

सम्झना ! तिमी शहर नपसेको भए
कोपर्दैन थियो सहरको जनावरले
चिथोर्दैन थियो घरपालुवा बाघ र भालुले
हदैसम्मको पिपासु शहरले
लूटदैन थियो तिम्रो अस्मिता
बहिनी सविताहरू हो !
तिमी जङ्गल मै सुरक्षित छौ
तिमी जङ्गल मै बस
शहर त बलात्कारीको आश्रयस्थल भएको छ
दुर्गन्धित भएको छ !

लाचार छन शहरमा बस्ने स्वघोषित
शिक्षित शासक
निर्धक्क छन बलात्कार गर्ने
स्तब्ध छ यो जङ्गली शहर
पीडामा छ मानवीय प्रेम
बलात्कारीलाई कार्वाही हुन नसकेकोमा
फूल जस्ता चेलि लूछिएकोमा
ए जंगलका सुन्दर र कोमल फूलहरू !
तिमी जंगल मै बस
जंगल सुरक्षित छ निर्धक्क छ
सहरको रहर र विस्वास नगर
किनकी शहर जंगल भएको छ
शहरमा ब्वासाहरूको राज छ । 

🖊️ ऋषभदेव घिमिरे ललितपुर, गोदावरी

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।