कोरोना महामारीको दोस्रो लहरले मुलुकमा संक्रमण तीव्ररुपमा फैलिएसँगै बिरामी हुने र मृत्यु हुने दर बढेपछि विभिन्न सामाजिक संघसंस्थाहरुले आफूले सकेको सहयोग गरिरहेका छन् । सरकारले यस विषम परिस्थितिमा जनताका समस्यामा ध्यान दिन नसकेको भन्दै आलोचना भइरहेका समयमा विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले कोरोनाका बिरामीहरुलाई जोगाउनका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने र उपचारमा सहयोग गर्ने गरेका छन् ।
यही क्रममा कोरोनाका बिरामीहरुले अक्सिजन नपाएको गुनासो बढेपछि नेपालमा रहेका विभिन्न गुम्बाहरु मिलेर चीनबाट २०० थान अक्सिजन कन्सनट्रेटर मगाए । गुम्बाहरुकले चन्दा संकलन गरेर उक्त अक्सिजन कन्सनट्रेटर चिनियाँ दूताबासमार्फत मगाएका हुन् ।
तर, सरकारले भने गुम्बाले रकम संकलन गरेर मगाएका २०० थान अक्सिजन कन्सनट्रेटरमाथि नै आँखा गाडेको छ । चीनबाट ल्याइएका २०० थान अन्सिजन कन्सनट्रेटरमध्ये १० थानमात्रै गुम्बालाई हस्तान्तरण गर्दै १९० थान भने जफत गरेको भन्दै गुम्बाका लामाहरु आक्रोशित बनेका छन् ।
नेपाल सरकारले १९० थान अक्सिजन कन्सन्ट्रेटर जफत पारेपछि बुधबार स्वास्थ मन्त्रालय पुगेर नाराबाजी गरेका हुन् । उनीहरुले सरकारले आफूले केही गर्न नसकेको र आफूहरुले मगाएका स्वास्थ्य सामग्री नै जफत गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले सरकारले आफूहरुलाई १०० थान उपलब्ध गराउन र बाँकी १०० थान अक्सिजन कन्सन्ट्रेटर आफूहरु सरकारलाई ‘दान’ दिन तयार रहेको बताएका छन् । तर, सरकार भने यसमा पनि आनाकानी गरिरहेको छ । दुई सय थान अक्सिजन कन्सन्ट्रेटरको मूल्य ७० लाख रुपैयाँ रहेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच छलफल चलिरहेको छ ।

















प्रतिक्रिया