Logo

सुरक्षा/अपराध

गैंडा तस्करीका फरार अभियुक्त पक्राउ



चितवन : चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ ।

उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् । वि.सं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ  । गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ ।
 
उनी फरार रहँदै आएका थिए । उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादी हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।