विराटनगर । मोरङको लेटाङमा नाच कार्यक्रम हेरेर घर फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
घटनापछि फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी मोरङ्का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्र ले जानकारी दिएका छन् । गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका–६ स्थित सुकेचौरी क्षेत्रमा नाच कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको थियो ।
घटनाबारे मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साललाई पक्राउ गरेको हो ।
घटनापछि फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया