कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार लिम्बूले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो । लिम्बूले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।
विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया