Logo

राजनीति

कोभिड खोप दुरुपयोग : मापदण्ड मिच्दै नासुको घरमा खोप केन्द्र, आफन्त र छिमेकीलाई प्राथमिकता 



सिन्धुली । सिन्धुलीमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा गोविन्द कोइरालाको घरमा खोप केन्द्र सञ्‍चालन गरेर कोभिड–१९ विरुद्धको भेरोसेल खोप दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष समेत रहेका सूर्य प्रसाद घिमिरे र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोविन्द प्रसाद कोइराला, शम्भु राउत, ग्रामिण विकास समाज सिन्धुलीका अध्यक्ष दिनेश अधिकारीलगायत १७ जनालाई आइतबार दिउँसो खोप लगाइएको हो ।

सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको आडमा खोपको दुरुपयोग भएको गुनासो बढेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका नायव सुब्बा गोबिन्द कोइरालाले प्रजिअको आडमा आफ्नै घरमा कोरोना भाइरस विरुद्धको खोप लगेर आफू निकटका व्यक्तिलाई लगाएको आरोप लागेको हो ।

कोरोना संकट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ न्यौपानेको निर्णय अनुसार खोप वितरण हुन्छ । कोइरालालले स्वास्थ्य कार्यालयका कर्मचारी सुर्यप्रसाद घिमिरेको कमाण्डमा खोप घरैमा लगेर लगाएको स्थानीयले आरोप लगाएका छन् ।

कोइरालाले आफ्नी आमा ज्येष्ठ नागरिक भएको र घरमा नै लगेर लगाउने भनेर खोप लगेको भए पनि खोपको दुरुपयोग भएको भन्दै छानबिन गर्न स्थानीयले माग गरेका छन् । तर कोइरालाले आफ्नी आमालाई यसअघि नै खोप लगाइसकेका थिए ।

“आइतबार दिउँसो एकाएक कोइरालको घर रहेको कमलामाई नगरपालिका-६ पानीट्यांकीमा मानिसहरुको चहलपहल भयो,” नाम नबताउने शर्तमा एक स्थानीयले भने, “मलाई गोविन्द कोइरालाको घर कता हो ? भनेर सोधियो । मैले सहजताका साथ कोही पाहुना आउनु भएको रहेछ भनेर घर देखाइ दिए । ति व्यक्तिले त्यहाँ खोप लगाउन गएको भन्‍ने कुरा उनले पाखुराबाट रुई फालेपछि थाहा भयो ।”

यसरी २० जना जति मानिस गोबिन्द कोइरालाको घरमा गएका थिए । त्यहाँ खोप लगाएको हल्ला खोप लगाउन आएको टोलीहरु यता उता गर्दै हिँडे । पछि केही युवाहरुले आफ्ना घरका ज्येष्ठ नागरिकले खोप लगाउन नपाएको तर यहाँ घरमा खोप राखेर आफूले चिनेका र आफन्तहरुलाई मात्रै खोप लगाएको भन्दै विरोध गरे । केही युवाहरुको समूह कोइरालाको घरतर्फ गएपछि खोप लगाउन आएको टोली भने त्यहाँबाट निस्किएको थियो । 

कोइरालाको घरमा कांग्रेसका नेताहरुले खोप ल्याएर लगाएको देखेपछि छिमेकीहरुले विरोध जनाएका थिए । छिमेकीहरुले विरोध जनाएपछि केही छिमेकीहरु लाई समेत उक्त खोप लगाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्र शाहले खोप दुरुपयोगमा कार्यालयको कुनै पनि हात नरहेको बताए । उनले भने, “हामीले खोप स्थानीय तहलाई वितरण गरेका छौँ । लगाउने काम हाम्रो हैन । त्यसैले स्वास्थ्य कार्यालय भन्दा पनि स्थानीय तह बढी जवाफदेहि हुन्छ ।”

तर, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले खोप दुरुपयोगको विषयमा कुनै पनि जनाकारी नआएको बताए । उनले भने, “खोप वितरण समितिको अध्यक्ष म स्वयम हुँ । कसैले शक्तिको आडमा दुरुपयोग गरेको पाइएमा छानबिन गरेर कारबाही को दायरामा ल्याउने छु । कुनै पनि बाहानामा उन्मुक्ति दिइने छैन ।” 

प्रमुख जिल्ला अधिकारी न्यौपानेले नै घिमिरे र कोइरालाको बचाउ गरेर ढाकछोपमा लागेको सिन्धुलीका एक स्थानीय पत्रकारले बताएका छन । खोप दुरुपयोगमा प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको हुनसक्ने ती पत्रकारले आशंका व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १३:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।