Logo

बैंकिङ

सांग्रीला बैंकमा भीआरएस आतंक : कर्मचारीको जागिर चैट ! जनताको पैसाको दोहन



मान्छेले आफूलाई मन नपरेका मान्छेलाई हटाउन केसम्म गर्न सक्छ भन्‍ने उदाहरण खोज्‍ने हो भने टाढा जानै पर्दैन, सांग्रीला डेभलपमेन्ट बैंकको बेथिति हेरे पुग्छ । देशभरमा ९९ वटा शाखा विस्तार गरिसकेको भएर पनि पछिल्लो समय यो बैंक एकजना बजार प्रमुखलाई मन नपरेकाजति हरेक कर्मचारीहरु हटाउँदा धराशायी बनेको हो । 

बैंकका चिफ अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीको सेटिङमा अर्पणा बज्राचार्यले बैंकमा बजार प्रमुखको जिम्मेवारी पाएकी थिइन् । ज्योति विकास बैंकमा टिक्न नसकेर निकालिएकी उनले यस बैंकमा जिम्मेवारी सम्हालेको करिब एक वर्षमै बैंकलाई देशव्यापी रुपमा टाट पल्टाउने जोखिमको डिलमा पुर्‍याएकी छन् । ‘चिफ अपरेटिङ’ अफिसर जोशी र मुख्य कर्जा अधिकृत रञ्‍जित मास्केको गतिलो साथ पाएकी बज्राचार्यमा आफू सिईओभन्दा पनि माथि रहेको घमण्ड भएकोले काम गर्न ज्यादै कठिन हुने गरेको कर्मचारीहरु बताउँछन् ।

नाम नलेख्‍ने शर्तमा बैंकका एक कर्मचारीले भने, “भनेको नमानौं भने पनि भएन, मानौं भने पनि अर्पणा म्यामको खटनपटन मान्दा बैंकलाई असर पर्छ । बैंकलाई असर गरेपछि सर्वसाधारणको रकम डुब्छ । अर्पणा म्यामको व्यवहार जंगी पाराको छ । हामीलाई धेरै गाह्रो छ ।’

यस बैंकका सिईओ सुयोग श्रेष्ठले आफ्नो जागिर बचाउनेबाहेक अरु काम गर्न सकेका छैनन् । उनी निरीह छन् । जसले गर्दा मानव संसाधन (एचआर) प्रमुख लेखनाथ पौडेल र आईटी हेड सन्तोष पंगेनीलाई समेत हातमा लिएर आफूप्रति बफादार नहुने कर्मचारीलाई जबरजस्ती जागिर छोडाउन बज्राचार्य केही समय सफल बनिन् । कतिपय कर्मचारीहरुले उनको अपमान सहन नसकेर जागीर छोडे । कतिपय कर्मचारीहरुले भने बेमौसममा पायक नपर्ने ठाउँमा जबरजस्ती सरुवा गरिएकाले जागिर छोडे । “यत्रो वर्षसम्म योगदान गरियो, अहिले विचल्ली पार्‍यो अब कसरी जीवन बिताउने ?’ भन्दै टीठलाग्दो स्वरमा बैंकबाट जबरजस्ती निकालिएका एक कर्मचारीले प्रश्‍न गरे ।

अर्पणालाई मन नपरेका कर्मचारीहरु धपाउन बैंकले सर्वसाधारणको बचतको समेत व्यापक दोहन गरेको अर्को रहस्यसमेत सतहमा आएको छ । कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना (भीआरएस)को स्किमको नाममा सर्वसाधारणको बचत दोहन गरेको हो । अपमान गरेर तथा गाली-धम्की दिएर पनि हटाउन नसकेका बैंकप्रति बफादार र स्वभिमानी कर्मचारीहरुलाई जसरी पनि हटाएर व्यक्तिप्रति बफादार कर्मचारी राख्‍नका लागि उक्त स्किम ल्याइएको बताइएको छ । 

कर्मचारी स्वेच्छिक अवकास योजना २०७७ नाम दिइएको उक्त स्किमपछि योग्य कर्मचारीहरुलाई ठूलो संख्यामा राजीनामा दिन बाध्य पारिएको रहस्यले यतिबेला बैंकिङ क्षेत्र तताएको हो । भीआरएस आतंकको योजना बन्‍नासाथ निकालिएका कर्मचारीहरुलाई त्यसै साँझ फोन गरेर भोलिपल्ट बैंकमा आउँदा राजीनामा पत्र सहित आउनु भन्दै दबाब दिएको पीडित कर्मचारीहरु बताउँछन् । यस स्किममा कर्मचारीहरुलाई निकालिँदा बैंकबाट लगभग पाँच करोड रुपैयाँ खर्च भएको छ । सांग्रीला बैंकमै गुपचुप राख्‍न खोजिएको यो प्रकरण यतिबेला बचतकर्ताहरुमाझ समेत पुगिसकेको छ । जसले गर्दा आफ्नो रकम फिर्ता गराउन बचतकर्ताहरुले बैंकका हरेक शाखाहरुलाई दबाब दिन थालेका छन् । 

आफ्नो खटन नमान्‍ने कर्मचारीहरु हटाउन सफल भएपछि अर्पणाको समूहले ऋण प्रवाहदेखि असुलीसम्ममा कमिसन खाने गरेको भित्री श्रोत बताउँछ । बैंकको सञ्चालक समितिमा समेत आफूहरुको भूमिकाको कारण बैंक सक्रिय भएको देखाउन व्यापक रुपमा खराब कर्जा प्रवाह गर्ने कार्यमा बज्राचार्यसहित अपूर्वप्रसाद जोशी र रञ्जित मास्के सफल भइरहेका छन् । बैंकको सञ्‍चालक समितिमा काम भएको देखाइए पनि खराब कर्जाको यथेस्ट जानकारी भने नपुगेको बताइन्छ । त्यसै कारण सञ्चालक समितिलाई रिझाएर उनीहरुले बैंककै खर्चमा पोखरा तथा नेपालगञ्‍ज टुर गरेका छन् । 

एकजना महिलाको कारणले सिंगो बैंक जोखिमको डिलमा किन हल्लिरहेको छ भन्‍ने प्रश्नमा एकजना पीडितले भने, “फरियावादमा लम्पसारहरुका अगाडि बैंकको शाखको केही अर्थ नरहने रहेछ । अर्पणाको वरिपरि घुमेर बैंक ध्वस्त पार्नेहरुको समूह बैंकमा रहँदासम्म सर्वसाधारणको रकम जोखिममा पर्ने भो ।”

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १७:०७   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।