Logo

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर उपमहानगरपालिका-१९ इखालखु बस्ने सोही उपमहानगरपालिका-२१ खोकना घर भएका ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिई फरार भएकोमा उनलाई उक्त अदालतले उक्त सजाय तथा जरिवाना फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ०४ बजे