कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ )ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ। तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन । डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ । मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ । यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो। सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन् ।
यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन । जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ । यो रोगविरुद्ध छुट्टै खोप उपलब्ध छैन। यद्यपि बिफरविरुद्ध निर्मित खोपले ८५% सुरक्षा दिन्छ । बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ ।
मङ्कीपक्सको प्रकोप कति सामान्य हो ?
अहिलेसम्म युरोपका यूके, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन् । शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै डब्ल्यूएचओले अहिलेका प्रकोपहरू “असामान्य“ र “गैरस्थानिक“ बनेर फैलिएको जनाएको छ ।
रोगको निगरानी गर्न अनि को प्रभावित हुन सक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको उसले जनाएको छ । रोगका कारण कुनै समुदायविरुद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ ।
“रोगको प्रकोप अन्त्य गर्न यो एउटा अवरोध बन्न सक्छ किनभने यसले मानिसहरूलाई उपचार खोज्न रोकिदिन सक्छ अनि त्यसबाट रोग थाहै नपाई फैलिन सक्छ,“ डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले ग्रीष्म याम सुरु हुँदा जमघट, पर्व र भोज गरिँदा यो रोग फैलिने गति बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार अहिलेका सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये एक जनाबाहेक अरू सबैले मङ्कीपक्स भेटिने ठाउँको यात्रा गरेका थिए ।
यूकेमा यो रोगको पहिलो सङ्क्रमणको विवरण मे ७ मा आएको थियो । ती बिरामी नाइजिरिया गएका थिए र इङ्ग्ल्याण्ड फर्किनुअघि नै उनलाई सङ्क्रमण भइसकेको ठानिएको यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ । मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । अहिले यूकेमा २० जना पुष्टि भएका सङ्क्रमितहरू भएको स्वास्थ्यमन्त्री साजिद जाभिदले शुक्रवार बताएका थिए ।
के भन्छन् नेपाली अधिकारी ?
अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन् । परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन । यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ ।
नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए ।
“सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन,“ लालले भने । लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन् ।
“अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन । तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा प¥यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ,“ उनले भने ।
बिफरको खोप
यूकेका अधिकारीहरूले आफूहरूले बिफरको खोप किनेर भण्डारण गरेको र मङ्कीपक्सको जोखिममा पर्न सक्ने मानिसहरूलाई वितरण गरिने बताएका छन् । स्पेनका अधिकारीहरूले पनि महामारीसँग लड्न बिफरका हजारौँ खोपहरू खरिद गरेको त्यहाँको एउटा अखबारले जनाएको छ । अस्ट्रेलियामा फेला परेका प्रथम सङ्क्रमित यूकेको भ्रमण गरेर फर्किएका एक व्यक्ति भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
उत्तर अमेरिकामा अमेरिकी राज्य म्यासचूसिट्सका स्वास्थ्य अधिकारीहरूले क्यानडाको भ्रमणपछि एक जना व्यक्तिमा उक्त रोग देखिएको बताएका छन् । ती व्यक्तिको अवस्था “राम्रो रहेको“ र उनका कारण “सर्वसाधारणलाई कुनै जोखिम नरहेको“ अधिकारीहरूले बताएका छन् ।




















प्रतिक्रिया