Logo

महाप्रबन्धक राईको चमत्कारीक निर्णय



काठमाडौं । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कोरोना महामारीका बीचमा पनि चमत्कारीक निर्णय गर्दै संस्थानलाई वार्षिक करोड रुपैयाँको फाइदा दिलाएका छन् । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेपछि संस्थान वार्षिक करोड रुपैयाँ फाइदामा पुगेको हो ।

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यावस्थापनका लागि सी. एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरमा सम्झौता भएको भन्दै सुरुदेखी नै उक्त सम्झौतामाथी प्रश्न उठेको थियो । सी. एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक लगभग २० रुपैयाँमात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सो क्षेत्रका व्यावसायीक मलमा प्रतिवर्ग फिट प्रतिमहिना ८० देखी एकसय रुपैयाँसम्म चल्ति रहेको छ ।

Cultural Corporation.jpg

‘सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँसम्झौता गरेका छौं’, संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानमा अनेकन समस्या छन् । संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा जरुरी छ । गत पुसदेखि कार्याभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए ।

‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ । पार्किङ सुविधाका कारण अव हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौं’, महाप्रबन्धक राईले भने । लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि संस्थानको समृद्धि आवश्यक रहेको उनको भनाइ छ ।

Ashok Pyasi Rai GM (3).JPG

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही समस्या छन् । हामी एक एक गर्दै समाधानका लागि अघि बढेका छौं ।

सी. एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७।७८ मा संस्थानले लगभग एक करोड तिस लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिसतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।

अध्यक्ष अधिकारीका अनुसार जीटुजी मोडेलमा तत्काल सम्झौता भएकाले संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स खाली राख्नु परेन । ‘नयाँ सम्झौतामा प्रतिवर्गफिट प्रतिमहिना ७० रुपैयाँ काम भएको छ । टेन्टरमार्फत गएको समय लाग्थ्यो तर अझ बढी दर कायम हुन सक्थ्यो’, अध्यक्ष अधिकारीले भने ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ६ : ३१ बजे