Logo

प्रमुख समाचार

लोक सेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान गर्यो ?
उत्तर– मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)

२. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

उत्तर– वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

३. उत्तम शान्ति पुरस्कार –२०७८ कसलाई प्रदान गरियो ?

उत्तर – सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

– (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

४. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

उत्तर – हेटौंडास्थित गुम्बाडाँडा

– बौद्ध धर्मगुरु लोमसाङ नांगेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

– ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँद्नुभएको ।

– २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका । नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

– गुम्बाडाँडा हेटांैडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

– पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

५. वि.सं. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने कलाकार को हुन् ?

उत्तर – गीतकार विश्ववल्लभ (पुरस्कार राशिः रु.१ लाख)

– (गायिका तारा थापा विन्ध्यवासिनी साधना सम्मान पुरस्कार राशी ःरु. ५० हजार) बाट सम्मानित भएकी ।)

६. नेपालमा पहिलो स्थानीय तह निर्वाचन कहिले भएको थियो ?

उत्तर – वि.सं. २००४ जेठ २९

– म्युनिसिपालिटी गोश्वाराले काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन सम्पन्न गरेको थियो ।

– त्यो बेला उम्मेदवार छान्दा २५ वर्ष पुगेका लोग्नेमानिसलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्नेमानिसहरूले मात्र भोट गर्न पाउने प्रावधान रहेको ।

७. सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परीक्षणका रूपमा कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

उत्तर – वि.सं. २०७९ जेठ १

– यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुने ।

– कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह् साढे ४ बजेसम्म हुने ।

– दशैँ र तिहारका सार्वजनिक बिदावाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुुसार सेवा प्रवाह गराउनुपर्ने राजपत्रमा उल्लेख गरिएको । सार्वजनिक संस्थामा सेवा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमनलगायतका रहेका ।

८. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

उत्तर – भूमध्ये रेखा

९. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?

उत्तर –बाग्लुङ

१०. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?

उत्तर – राष्ट्रिय खनिज नीति, २०७४

११. राष्ट्रिय कलाश्री सम्मान –२०७८ कसलाई प्रदान गरियो ?

उत्तर – साहित्यसाधक परशु प्रधान

– राष्ट्रिय कलाश्री पुरस्कार शब्दशिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

– ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

– बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूकर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

१२. वेदव्यासको जन्मस्थल एवं तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?

उत्तर – पणेना (अर्घाखाँची)

१३. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले गरिएको हो ?

उत्तर – वि.सं. २०७९ जेठ २

– काठमाडौँबाट गएको नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०) को विमानलाई स्वागत गरी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा औपचारिक रूपमा विमानस्थलको उद्घाटन गरिएको ।

– औपचारिक उद्घाटन भएसँगै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आएको ।

– बुद्धजयन्तीका अवसरमा उद्घाटन गरिएको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्धिको ढोकाका रूपमा हेरिएको ।

– तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्र.म. सुशील कोइरालाद्वारा २०७१ सालमा शिलान्यास गरिएको थियो ।

– २०७२÷७३ देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब लागतमा निर्माण सम्पन्न भएको ।

– विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टमजडित यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुनसक्ने । त्यस्तै, रनवेलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको ।

– नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि जहाज सहजै अवतरण हुनसक्ने ।

– हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफंैले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले गर्ने ।

– यस विमानस्थलमा पहिलो व्यावसायिक उडान नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० ले गरेको ।

– यसअघि २०७९ वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले परीक्षण उडान गरेको ।

१४. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा छ ?

उत्तर – दोस्रो

१५. राष्ट्रिय कविता महोत्सव–२०७८ मा प्रथम स्थान हासिल गर्न सफल कवि स्रष्टा को हुन् ?

उत्तर – कविता राई (कविताः देशको नक्सा)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार ०५:१३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।