काठमाडौं । स्थानीयवासीले फोहोर विसर्जन गर्न नदिएपछि बञ्चरेडाँडा गएका ट्रक फोहोर बोकेरै काठमाडौं फर्किएका छन् । प्रहरी खटाएर सुरक्षा दिँदै लगिएका ट्रकलाई सयौँ स्थानीयवासीले सडकमाथिबाट ढुंगामुढा गरेर प्रतिरोधमा उत्रिएपछि झडप भएको थियो ।
फोहोरका गाडीलाई सुरक्षा दिन बञ्चरेडाँडा क्षेत्रमा दुई सयभन्दा धेरै प्रहरी तैनाथ भएका थिए। काठमाडौंमा थुप्रिएको फोहोर बोकेर पुगेका ट्रक बुधबार बन्चरेडाँडा पुग्नै नसकेका हुन् । स्थानीयवासी प्रतिकारमा उत्रिएपछि सुरक्षामा खटिएका प्रहरीले दुई राउन्ड अश्रु ग्याँस पनि हानेका थिए।
स्थानीयले ढुंगामुढा गर्दा तीनजना प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बञ्चरेडाँडामा फोहोर लैजानका लागि यसअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा काठमाडौं महानगरपालिका तथा धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनीका जनप्रतिनिधिबीच सम्झौता भएको थियो।
तर त्यो सम्झौता वार्तामा आफूहरूलाई सहभागी नगराएको भन्दै स्थानीयवासी प्रतिकारमा उत्रिएका हुन्। उनीहरुले फोहोर बिसर्जन गर्ने भए १० अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने माग गरेका छन्।




















प्रतिक्रिया