काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।
उनका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भइ दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए । सन्तोषीले उक्त दिन आफूलाई बस्ने-खाने व्यवस्था नभएको बताएकी थिइन् ।
एसएसपी खापुङले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए । बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ । हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेको देखिन्छ ।”
पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे । हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए । प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरुसँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर बल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुर्याएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीको शौचालयबाट बरामद गरेको थियो । प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।
प्रतिक्रिया