Logo

बैंकिंग

वाणिज्य बैंक र एनबीआइबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआइ) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार चालु आ.ब. २०७७÷०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि गर्ने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे बताएका हुन् । सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

हाल बैंकले २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ५४ बजे