Logo

अन्तर्वार्ता

सामाजिक कुप्रथाहरु अन्त्य गर्नेछु : सुनिता चौधरी [अन्तर्वार्ता]



स्थानीय तहको प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष मध्ये एक पदमा महिला उम्मेदवार बनाउने संवैधानिक व्यवस्था थियो । हालै सम्पन्न निर्वाचनमा खासगरी गठबन्धनको कारणले गर्दा महिलाहरुले संविधान अनुसारको हकबाट बन्चित हुन पर्यो । फरक पार्टी भागबण्डामा उम्मेदवार चयन गर्दा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई टिकट दिए ।

महिलालाई पुरुष सरह नेतृत्वमा पुरान कानुनमा विभिन्न व्यवस्था गरिए पनि व्यवहारमा उल्टो भएको छ । अझै कयौं पालिकामा महिला हिंसा, जातिय विभेद जस्ता समस्याहरु मुख्य समस्या बनेका छन् । यस्ता समस्याको समाधान गर्ने एजेण्डा लिएर रुपन्देही जिल्ला ओमसतिया गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी सुनिता चौधरीले जित पनि हाँसिल गरिन । उनको अबको योजना र ओमसतियाको समसामयिक विषयमा केन्द्रीत भएर अनलाइनपानाले गरेको कुराकानी :

ओम सतिया गाउँपालिकामा अबको पाँच वर्षका लागि जनताले तपाईँलाई उपाध्यक्ष चुनेर पठाएको छ । कस्ता कामलाई प्राथमिकता दिनुहुन्छ ?

यो पाँच वर्षे कार्यकालमा म महिलाहरुको न्यायको लागि, महिलाहरुको सशक्तीकरण गर्न र महिलाहरुको चेतना वृद्धामा बढि महत्व दिएर काम गर्ने छु । हाम्रो रुपन्देही जिल्लामा महिलाहरुलाई शोषण गरिएका धेरै घटनाहरु घटिरहेका छन् । आजको समयमा पनि महिलाहरुले धेरै कुरुर पीडाहरु सहेर अन्यायमा बाँचिरहेका छन् । त्यसो हुनाले हामीलाई महिलाहरुको चेतनामा वृद्धि गर्न र पुरुष सरह अधिकार व्यवहारिक रुपमा प्रदान गर्न चुनौती छ । त्यसो हुनाले ओम सतिया गाउँपालिकामा विकास निर्माणका कामहरुलाई पनि तिव्र गतिमा अगाडि बढाउने छौं । गत कार्यकालमा सुरु भएका अधुरा योजनाहरुलाई पनि पूरा गर्नेछौँ । त्यसको साथ साथै हामी यहाँका महिलाहरुको जीवनस्तरमा सुधार नआउँदासम्म यहाँको विकास अधुरो रहन्छ भन्नेमा पनि हामी सचेत छौं ।

विकास निर्माणको काममा र राजनीतिमा पनि हामी महिलालाई सकृय बनाउने छौं । यहाँ अझै पनि केही ठाउँमा महिलालाई घुम्टोभित्र बस्न बाध्य बनाउने र दाइजो प्रथा जस्ता कुप्रथाहरु कायमै छन् । यो पाँच वर्षमा म यस्ता प्रथाहरु जरैबाट उखेल्ने प्रयत्न गर्नेछु । दाइजो नल्याइएकै कारण यहाँ कतिपय महिलाहरुले ज्यान नै गुमाएका छन् भने कतिपयले दिनप्रतिदिन पिडा सहेर काहाली लाग्दो जीवन बाँचिरहेका छन् । म हाम्रो पालिकामा त्यस्ता समस्याहरु समाधान गर्न एक दम सकृय भएर लागि पर्ने छु ।

महिलाहरुलाई संविधानले त हेरेको छ । तर व्यवहारमा निकै पछाडि परिएको छ । अब हामीले महिलाहरुलाई चुलोचौकामा सीमित नराखेर विभिन्न संघ संस्थामा आवद्ध गराउने, आयआर्जनमा जोड्नको लागि तालिमहरु ल्याउने र व्यवसायतर्फ अग्रसर बनाउनेमा जोड दिनेछौं । ओम सतियामा महिलाहरुलाई अगाडि बढाउन पर्याप्त बजेट विनियोजन गर्ने गरेर तालिम प्रदान गर्ने, आफ्नो खुट्टामा उभिन सक्ने बनाउने मेरो योजना छ ।

जातिय विभेद कसरी अन्त्य गर्नुहुन्छ ?
तपाईँ एकदमै राम्रो प्रश्न उठाउनु भयो । हाम्रो पालिकामा महिला हिंसा मात्रै होइन, जातिय हिंसा पनि जटिल समस्याको रुपमा कायमै छ । विभिन्न वडाहरुमा जातहरुबिचको दरार गहिरोसँग रहिआएको छ । समय समयमा विभिन्न घटनाहरु पनि घट्ने गरेको छ । यहाँ यस्तो विषयमा हामी शिक्षा र जनचेतना जगाउने काम गर्ने छौं । यहाँका जनतालाई यो पाँच वर्षमा जातको आधारमा साना र ठूला भन्ने हुँदैन भनेर चेतना वृद्धि गर्ने छौं । समाजमा रहेर जुनसुकै जातका मान्छे पनि एकै हौं भन्ने सन्देश जनतामाझ पुर्याउन जरुरी छ । त्यसमा हाम्रो विशेष पहल हुने छ ।

पालिकाको न्यायलयको जिम्मा उपाध्यक्षलाई हुन्छ । जनताको विवादहरुलाई कसरी समाधान गर्दै न्याय प्रदान गर्नुुहुन्छ ?
न्यायिक समितिभित्रका सबै मिलेर समस्या समाधान गर्ने हो । नेतृवमा उपाध्यक्षलाई राखेको हुन्छ । त्यसो हुनाले म हाम्रो पालिकावासीको विवादलाई सकेसम्म समाधान गरेर पीडितलाई न्याय दिने कार्य गर्नेछु । गाउँका समस्या गाउँमै समाधान गरेर अदालतसम्म जान नपर्ने बनाउँछु । नेपालको संविधान अनुसार सबैले अधिकार पाउने गरि काम गर्ने छु । न्यायिक समितिमा अलि जटिल समस्या आयो भने हामी न्याधीसहरुको सल्लाहमा समस्या समाधान गर्नेछौं ।

योजनाहरुको अनुगमनको जिम्मा पनि उपाध्यक्षलाई हुन्छ । यसमा कसरी अगाडि बढ्नुहुन्छ ?
योजनाहरुको अनुगमन गर्दा हामी उपभोक्ता समितिले र ठेकेदारले कसरी काम गरेको योजना र बजेट अनुसार काम भयो कि भएन भनेर हामी राम्रो अनुगमन गर्ने छौं । अनुगमनकै प्रक्रियामा कतै भ्रष्टचार भएको छ कि भनेर पनि छानबिन गर्ने छौं । यसरी हामी पालिकाको विकासमा अनुगमनलाई बढि महत्व दिनेछौँ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ५ : ०१ बजे

564
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।