Logo

समाचार

ललितपुरमा पनि दुई जनामा हैजा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौंपछि उपत्यकाभित्रै अर्को जिल्ला ललितपरमा पनि दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा उनीहरुमा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ। उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ।

चिकित्सकहरुका अनुसार भिब्रियो कलेरा नामक ब्याक्टेरिया दूषित पानीको माध्यमबाट मानिसमा फैलिन्छ। हैजा छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सतर्कता अपनाइएन भने यो महामारीको रुपमा फैलिने जोखिम रहने चिकित्सकहरुको चेतावनी छ ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गर्मी तथा वर्षायाममा झाडापखाला, हैजासहितका पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।