Logo

प्रमुख समाचार

कोरोनाभाइरसः निको हुनेभन्दा सङ्क्रमितको सङ्ख्या बढ्दो, लकडाउन हुने सम्भावना छ ?



विगत एक साताको तथ्याङ्कले नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या थपिने क्रम बढेको देखाउँछ । कोभिडबाट निको हुने व्यक्तिको सङ्ख्याभन्दा दैनिक नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या झन्डै दोबरले बढिरहेको पाइएको छ । नयाँ सङ्क्रमित थपिने क्रमसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । जेठ ३१ गते १२ जना नयाँ सङ्क्रमित थपिएकोमा त्यसको सातौँ दिन २८ जना सङ्क्रमित फेला परेको तथ्याङ्क छ । सामान्य लक्षण भएका सबै जनाले परीक्षण नगराउने भएकाले सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने देखिन्छ । केही दिनयता भारतमा पनि कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको त्यहाँको केन्द्रीय स्वस्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यसले के सङ्केत गर्छ?
सङ्क्रमणको दर हेर्दा अघिल्ला साताको तुलनामा अहिले सङ्क्रमण बढ्न थालेको मन्त्रायलका प्रवक्ता डा. समिरकुमार अधिकारी पनि स्वीकार्छन् । “बढ्यो अथवा एकदमै गाह्रो भयो भन्ने अवस्था त आइसकेको छैन। तर सङ्क्रमण एक दिन मात्रै नभई हप्ता दिन नै बढेकोले चनाखो हुनुपर्ने चाहिँ देखिन्छ,“ उनले भने ।
गत एक साताको तथ्याङ्कलाई सङ्क्रमण बढ्न लागेको सङ्केतको रूपमा लिन सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । “छिमेकी देशहरूमा पनि बढिरहेको छ। यहाँ पनि ृसङ्क्रमण दरे माथि जान लागेको सङ्केतको रूपमा लिन सकिन्छ,” उनले भने ।

कति र कस्ता व्यक्तिको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला पर्ने गरेका हुन् भन्ने कुराले सङ्क्रमणको प्रवृत्तिबारे भन्न सकिने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीको तर्क छ ।

“अझ लक्षण देखिएका कति जनाको परीक्षण गरियो र तीमध्ये कति जना सङ्क्रमित फेला परे भन्ने कुराले बुझ्न सहज हुन्छ,” उनले भने ।
मानिसहरूको व्यवहारमा आएको परिवर्तन एउटा सम्भावित कारण रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारी पनि बताउँछन् ।

“हाम्रो हेलचेक्र्याइँ बढ्न थालेको देखिन्छ । एउटै सङ्क्रमितले पनि अरू धेरैलाई सङ्क्रमित बनाउन सक्छ भन्ने सचेतना हामीकहाँ अलि कम भएको हो कि ?”

कारण के हो ?
पछिल्ला दिनमा नयाँ सङ्क्रमित थपिँदै जानुमा जनस्वास्थ्यका मापदण्डको पालनामा लापरबाही हुनु प्रमुख कारण देखिएको जनस्वास्थ्यविज्ञले बताएका छन् ।

“मास्क लगाउने, हात धुने, अलि परपर बस्ने गर्नुपर्थ्यो। तर मानिसहरूले ती काम बिस्तारै छोड्न थालेकाले पनि सङ्क्रमण बढ्न थालेको हुन सक्छ,“ मरासिनीले भने ।

जनस्वास्थ्यका मापदण्डको पालना सम्बन्धमा निराशाजनक अवस्था देखिन थालेको कुरामा डा. सुवेदी पनि सहमत देखिन्छन् ।
“अस्पतालमै मास्क नलगाई मानिसहरू घुमफिर गरिरहेको देखिन्छ, ज्येष्ठ नागरिकहरू समेत मास्कबिना हिँडिरहेको देख्छु ।”

“मास्क अहिले सबैभन्दा भरपर्दो सुरक्षाको उपाय देखिएको छ । हामीले हाम्रो आनीबानीबारे बेवास्ता गर्दा पनि सङ्क्रमण बढ्ने सम्भावना ठूलो छ,“ उनले थपे ।

के अर्को लहर आउन सक्छ?
कोभिड महामारीको अर्को लहर आउन सक्ने सम्भावनालाई नै नकार्न नसकिने विज्ञहरूको मत रहेको छ ।

“धेरै ठूलो त नहोला किनभने नेपालमा कोभिड खोप लगाउनेहरूको सङ्ख्या धेरै छ । अहिले झन् पाँचदेखि ११ वर्षमुनिका बच्चालाई पनि लगाउन थालिएको छ,” मरासिनीले भने ।

“त्यसो भएको हुनाले ठूलो लहरभन्दा पनि अहिले देखिएकाभन्दा धेरै बिरामी हुने सम्भावना बढेर गएको छ ।”

कतिपय देशमा फेला परिरहेका कोरोनाभाइरसका नयाँ भेरिअन्ट हेर्दा नेपालमा पनि समस्या निम्तिन सक्ने जोखिम रहेको डा. सुवेदी औँल्याउँछ ।

“हाम्रो स्वास्थ्य प्रणालीका कारण लहर डिटेक्ट गर्न अलि समय लाग्ला, तर जुन भेरिअन्टहरू देखिँदैछन् तिनले ठूलै लहर आउन सक्छ भनेर सोच्नुपर्ने सचेत हुनुपर्ने देखिन्छ,” उनले थपे ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी पनि महामारी नै सकिसकेको रूपमा प्रस्तुत हुन नहुने सुझाउँछन् । भारतमा सङ्क्रमण बढिरहेको पृष्ठभूमिमा पछिल्लो समय खासगरी सीमा क्षेत्रमा सजगता बढाइएको उनले उल्लेख गरे ।

“शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने र सङ्क्रमण पुष्टि भए सीक्वन्सिङ गर्ने काम हामीले बढाएका छौँ ताकि हामीकहाँ भएका भेरिअन्ट बढेको हो अथवा नयाँ हो भन्ने थाहा होस् ।”

कतिले खोप लगाइसके ?
स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपराह्णसम्म कुल जनसङ्ख्याको ७७.४ प्रतिशतले कम्तीमा एक मात्रा र ६८.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

त्यसैगरी लक्षित जनसङ्ख्याको ९६.८ ले एक मात्रा र ८६.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता अहिलेसम्म कुल ४,५३,२२,७१५ मात्रा खोप लगाइएको छ ।

नेपालले अहिलेसम्म ५,३३,८१,५७० मात्रा खोप प्राप्त गरेको मन्त्रालयको तथ्याङ्क छ ।

बीबीसीबाट

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।