Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–३२)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आज लोकसेवामा सोधिने ताल र कुण्डको बारे चर्चा गर्नेछौँ ।

नेपाल प्राकृतिक रूपमा धनि देश भएका कारण बाट तथा यहाँको विशिष्ट भु बनोटका कारण नेपालका ताल कुण्ड र पोखरीहरू विश्व मानचित्रमा प्रमुखताका साथ समावेश हुन नसकेपनि यिनिहरूले नेपालको रमणिय प्राकृतिक छटाको परिचय बाँडिरहेका छन। विश्वकै अग्लो तिलोचो ताल नेपालमै अवस्थित छ। यस्का अलावा अन्य नेपालका ताल कुण्ड र पोखरीहरू को जानकारी लोक सेवा तयारीले संकलन गरेको छ ।

नेपालका ताल कुण्ड र पोखरीहरू
तिलिचो ताल
तिलिचो ताल समुन्द्रसतहदेखि ४,९१९ मिटरको उचाइमा फाक्चे हिमालको काखमा रहेको छ । यो मनोरम ताल मुस्ताङको साँधमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ । यो तालको लम्बाइ करिब ४ कि.मि. तथा चौडाइ १.२ कि.मि. र गहिराइ करिब २०० मिटर रहेको छ । यस ताललाई तिरि–चो वा तिलिजो पनि भनिन्छ । यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ । हिउँ, जल तथा ढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अत्यन्तै मनमोहक छ ।

रारा ताल
मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्ध छ । यसको लम्बाइ ५.२ कि.मि., चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ । यो समुन्द्र सतहदेखि २,९९० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द्रताल पनि भनिन्छ ।

शे फोक्सुण्डो ताल
फोक्सुण्डो ताल डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवा हिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदुल्ला खोलाको शिरान कागमारा लेकको काखमा अवस्थित फोक्सुण्डो ताल समुद्र सहतदेखि करिब ३,६१३ मिटरको उचाइमा अवस्थित छ । यो ताल उत्तर दक्षिणतर्फ लामो एवं पूर्वपश्चिमतर्फ चौडा देखिन्छ । यो तालको लम्बाइ करिब ४.८२ कि.मि. तथा चौडाइ १.६१ कि.मि. रहेको छ । यस तालको स्थानीय नाम ‘रिग्मो’ हो । यो ताल तीनकुने लाम्चो आकारको छ । यो ताल रारा तालपछिको दोस्रो ठूलो र मुलुकको सबैभन्दा गहिरो ताल हो । यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनै किसिमका जीवात्मा पाइँदैनन् । यस तालको निकासको रूपमा रहेको सुलीगाड खोलामा करिब १७६ मिटरको झरना पनि छ ।

च्छो रोल्पा ताल
यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमा अवस्थित छ । यस तालको लम्बाइ ३ कि.मि., चौडाइ ०.५ कि.मि.र गहिराइ १०० मिटर रहेको छ । यो तालमा करिब ८ करोड घनमिटर पानी रहेको अनुमान छ । विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिर निकाल्न साइफन जडान गरिएको छ ।

फेवाताल
कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ कि.मि.,चौडाइ १.५ कि.मि.र गहिराइ २४ मी. रहेको छ । यो तालमा माछापुच्छे«को छायाँ देखिने हुनाले बडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए । यो पोखरीको लम्बाइ १८० मिटर, चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीको उत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव, दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिम कुनामा सो¥ह हाते गणेश स्थापना गरिएको छ ।

टौ दह
काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवान श्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाएपछि यहाँका नागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमा पोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोले टौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो ८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुँदा चराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।

घोडाघोडी ताल
कैलाली जिल्ला अन्तर्गत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल रहेको छ । यस तालको बीचबीचमा चारपाँचवटा थुम्का थुम्कीहरू बनेका छन् । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो । यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकाँै पशुपक्षीहरू पाइन्छन् । तालभित्र माछा, गोही, कछुवा आदि पशुपक्षीहरू पाइन्छन् ।

गोसाइँकुण्ड
जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बीहरू आउने साथै धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाईकुण्ड बाग्मती अञ्चलको रसुवा जिल्ला प्रदेश नं ३ मा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्र सतहबाट करिब ४,३६० मिटर उचाइमा रहेको छ । सूर्यकुण्ड (पूर्व) र उत्तरी झरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो ।

नेपालका ताल कुण्ड र पोखरीहरूको अवस्थिति
१ रारा ताल – मुगु
२ फेवा ताल – कास्की
३ रूपा ताल – कास्की
४ मैदी ताल – कास्की
५ बेगनास ताल – कास्की
६ शे–फोक्सुण्डो वा रिग्म ताल – डोल्पा
७ बीसहजार ताल, नन्दभाउजू ताल– चितवन
८ गैडहवा ताल – रूपन्देही
९ लौसा ताल – रूपन्देही
१० सग्रहवा ताल – रूपन्देही
११ जाखिरा ताल – कपिलवस्तु
१२ घोडाघोडी ताल – कैलाली
१३ बुलबुले ताल – सुर्खेत
१४ जगदीशपुर ताल – कपिलवस्तु
१५ रानी ताल – कञ्चनपुर
१६ झिलमिला ताल – कञ्चनपुर

१७ तिरीछो (तिलिचो) ताल – मनाङ
१८ खप्तड दह – अछाम
१९ गोसाईकुण्ड – रसुवा
२० इन्द्रसरोवर – मकवानपुर
२१ टौदह – काठमाडौँ
२२ रानीपोखरी – काठमाडौँ
२३ नागदह – काठमाडौँ
२४ गङ्गासागर – धनुषा
२५ महाराजा सुन्वर्षी पोखरी – मोरङ
२६ माइदिया पोखरी – पर्सा
२७ सुर्मा सरोवर बझाङ
२८ पञ्चासे ताल – स्याङ्जा, पर्वत र कास्की
२९ गिरी दह – जुम्ला
३० सुना दह – डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र
३१ गुफा पोखरी, सभापोखरी – सङ्खुवासभा
३२. माई पोखरी – इलाम

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०५:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।