Logo

कोरोना संक्रमणका कारण मानसिक समस्या



विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले एकातिर मानसिक समस्यामा नयांखाले जटिलता थपिएको छ भने अर्काेतिर कोभिड १९ कोरोना भाइरस महामारीले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ । 

मनोचिकित्सकहरूका भनाइमा निको हुंदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि आउन थालेका छन् भने त्यो संख्या उल्लेख्य छ । कोरोनापछि उत्पन्न असहज परिस्थिति, लकडाउनलगायतका कारण सेवन गरिरहेको औषधिको सहज उपलब्धता नभएकाले पनि केही हदसम्म समस्या बल्झिएको हो। त्यति मात्र होइन, यस्ता मानसिक रोगीमा कोरोनाको जोखिम पनि उच्च छ । 

मानसिक अस्पतालको भौतिक संरचना संक्रामक रोगीलाई ध्यानमा राखेर निर्माण नभएकाले अस्पतालहरू नै संक्रमणको उच्च जोखिममा छन् । त्यसमाथि मानसिक अस्पतालमा उपचाररत बिरामीले कोरोना रोकथाम तथा सुरक्षा साधन प्रयोग गर्न नमान्ने भएकाले पनि जोखिम बढेको छ । कतिपय बिरामीले मास्क, स्यानेटाइजरलगायत सुरक्षा उपाय अपनाउन नमान्ने भएकाले पनि जोखिम बढेको हो । त्यसैले बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्थिर अवस्थामा रहेका बिरामीलाई मानसिक स्वास्थ्य उपचार सेवासहित घरमै पठाउन थालेको छ भने दूर मानसिक स्वास्थ्य सेवा पनि सुरु गर्न थालेको छ । 

एकातिर अस्पतालको यस किसिमको सेवा र अर्काेतिर अस्पताल आउन सहज नभएकाले पनि कतिपय व्यक्तिले मानसिक स्वास्थ्यबारे टेलिफोनमार्फत मनोचिकित्सकसंग परामर्श लिइरहेका छन् । अस्पताल आउन सहज वातावरण हुने हो भने अस्पताल आउने मानसिक रोगीको संख्या धेरै हुन सक्ने चिकित्सकको राय छ । 

कोरोना संक्रमण महामारीका कारण दैनिक जीविका र स्वास्थ्य समस्यालाई लिएर यतिबेला आम मानिस छटपटीमा छन् । यसले समाजमा मानसिक स्वास्थ्य समस्यामा जटिलता ल्याउने संभावना छ । बालबच्चादेखि बूढाबूढीसम्म कोरोना महामारीले बाहिर निस्कन पाएका छैनन् भने कामकाजी उमेरका व्यक्तिहरूसमेत यो समस्याबाट अछूतो छैनन् । कतिपयले कोरोनाका कारण आफन्त गुमाएका छन् भने कतिपयले रोजगारी ।

 दैनिक छाक कसरी टार्ने भन्ने समस्याले धेरैलाई पिरोलेको छ भने भविष्यप्रतिको चिन्ताले पनि उत्तिकै अत्याएको छ । निम्न र मध्यम वर्गलाई दैनिक छाक टार्ने समस्याले पिरोलेको छ भने उद्योगी-व्यवसायीलाई व्यापारबाट भएको घाटादेखि बैंकको ऋणले उत्तिकै चिन्तित बनाएको छ । 

कोरोनाको प्रभावबाट कोही अछूतो छैनन् र हरेकका आ–आप्नै समस्या छन् जसले गर्दा उनीहरूलाई वर्तमान र भविष्य दुवैको चिन्ताले सताएको छ । यस्तो अवस्थामा समाजमा मानसिक समस्याको जटिलता बढ्ने कुरा नकार्न सकिंदैन । त्यसो त कोरोना सिर्जित मानसिक समस्यासंगै आत्महत्याका घटना पनि बढिरहेको देखिन्छ । चैत ११ देखि साउन ४ गतेसम्ममा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्यांकले पनि त्यस्तै संकेत गर्छ । गत वर्ष ५ हजार ७ सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार २ सय ६१ जनाले आत्महत्या गरेको सरकारी तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।

यसरी समाजमा आत्महत्याको संख्या जसरी बढिरहेको छ, त्यसलाई न्यून गर्ने पहल अहिले नै नगर्ने हो भने आगामी दिनमा समस्या विकराल बन्न सक्छ । मनोचिकित्सकहरूको भनाइमा आत्महत्या अस्थायी किसिमको सोचको परिणाम भएकाले यसमा विशेषज्ञ मनोपरामर्श उपलब्ध गराएर न्यून गर्न सकिन्छ ।’ त्यसैले पनि समाजमा हुने आत्महत्या दरलाई न्यून गर्न मनोचिकित्सकहरूको सहयोगमा अभियान सञ्चालन गर्न जरुरी छ ।

त्यसो त सरकारले पछिल्लो समय आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेपछि समस्यामा परेकालाई परामर्श दिन मनोचिकित्सकहरूको सहयोगमा हटलाइन सेवा सुरु गर्न खोजेको छ । यही सेप्टेम्बर १० देखि ११६६ नम्बरको हटलाइनमार्फत चौबीसै घण्टा परामर्श दिने व्यवस्था गर्न लागिएको छ ।

सरकारको यो पहलकदमीलाई सकारात्मकरूपमा लिन सकिन्छ तर, त्यो पर्याप्त छैन । अहिले तत्कालको अवस्थामा जसरी कोरोना महामारीले स्वास्थ्य संकट निम्त्याएको छ, त्यसैगरी भविष्यमा यसको प्रभावका रूपमा मानसिक स्वास्थ्यको समस्या भयाबह देखिन सक्छ । 

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ९ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।