Logo

प्रमुख समाचार

यात्राका सूक्ष्म–भौतिकी र सागर गैरे



  • निलो आकाश हेरर कहिल्यै मन अघाउँदैन । बश्, आकाश हेर्न जान्नुपर्छ ।
  • बालहठ र राजहठको अगाडि कसको के लाग्छ र ?
  • जीवन पनि त एउटा ग्रेटवाल हो । प्रत्येक मान्छेभित्र अडिएको छ आ–आफ्नै ग्रेटवाल । त्यही ग्रेटवालले विभक्त छ मान्छे ।
  • यात्रा एक ठाउँबाट अर्को ठाउँमा जानु मात्रै त कहाँ हो र ? यात्रामा मनको शान्ति खोजिन्छ । खुसी खोजिन्छ र सबैभन्दा बढी आफैँलाई खोजिन्छ ।
  • प्रत्येक मान्छे एउटा चिहान न हो । हामी आआफ्ना चिहान बोकेर हिँडिरहेका छौँ । यात्रामा एक दिन यात्री फेरिन्छ अवश्य । तर यात्रा भने जारी रहन्छ अनन्त कालसम्म ।

कविताको पुट र आख्यानको सम्मोहन बोकेका यी हरफ सागर गैरका नियात्रबाट निकालिएका हुन् । नियात्राजस्तो निजी अनुभूति र सङ्कलित सूचनाको आधारमा लेखिने विधामा जब काव्य वा आख्यानको सम्मोहक बान्कीले प्रवेश पाउँछ, गैर–आख्यानको स्वाभाविक सु्ष्कता चिरिन्छ, र उक्त रचना सुरुचीपूर्ण बन्न पुग्छ । सर्जक सागर गैरेको नियात्रकारिताको परिचायक स्वभाव पनि यही हो । उनी सामान्य अनुभूतिलाई असामान्य अभिव्यक्ति दिन सक्ने लेखक हुन् ।

२०७७ मा निबन्धकृति ‘लकडाउन’ प्रकाशित गरेर औपचारिक रूपमा लेखनमार्गमा होम्मिएका सरल, मृदुभाषी र उदार मनोभावका गैरेले, एक वर्ष बित्दानबित्दै नियात्राकृति ‘बलैगाउँदेखि बाकुसम्म’ प्रकाशनमा ल्याएका छन् । यो उनको सिर्जनशीलता, ऊर्जा र अठोटको पनि परिचायक बन्न पुगेको छ ।

साङ्ग्रिला बुक्सबाट प्रकाशित कृति ‘बलैगाउँदेखि बाकुसम्म’ को नामैले यसभित्र समेटिएका यात्राको रेन्जलाई सङ्केत गरेको छ । भारतको सीमावर्ती सहर बलैगाउँदेखि लिएर, भारतकै दिल्ली, आगरा, अलिगढ र मथुरा, इन्डोनेसियाको बाली, थाइलेन्डको बेङकक, टर्कीको इस्तान्बुल, चीनका बेइजिङ र साङघाई, मध्यपूर्वको दुबई, तथा अजरबैजानको राजधानी बाकुको यात्राका अनुभूतिहरू यसमा समेटिएका छन् ।

यात्राका सूक्ष्म विवरणहरूतिर नलागौँ । धेरैजसो नियात्राकारका आँखा आकाशमा हुन्छन् र जमिनको सूक्ष्म भौगोलिकी नेपथ्यमा पर्दै गएको हुन्छ । सागरमा यही एउटा फरक पाइन्छ । उनका आँखा जमिनमा हुन्छन्, र त्यसो गरिरहँदा बरू सुदूर आकाशको इन्द्रेणी छुटोस्, त्यो त जहाँबाट हेरे पनि उस्तै देखिन्छ भन्ने कुराको हेक्का उनले राखेको देखिन्छ । उदाहरणका लागि, सीमावर्ती जिल्लाहरूका बासिन्दा किनमेल, उपचार वा तीर्थाटनका लागि भारत गइरहन्छन् । तर, भारत–नेपाल सम्बन्धका ‘आम’ सरोकार, र एक समान्य नागरिकको जीवनसँग ठोक्किन पुग्ने तीतामीठा यथार्थलाई, आकाशमा हुने आँखाहरूले, टिप्न सकिरहेका हुँदैनन् । यो कुरा, धेरै समकालीन नियात्राकारहरूको कलमको एउटा अँध्यारो पाटो पनि हो । जति सूक्ष्मताको भूगोलमा प्रवेश गर्न सक्यो, उति नै मिहिन बन्छ आलेख । तर, हामी भव्यता र समग्रताको मोहपासमा, सबैलाई थाहा भएको कुराको पुनरकथन गर्ने र त्यसैको पर्सनल भर्जन प्रस्तुत गर्ने काम गरिरहेका हुन्छौँ । सागर यस प्रकारको फ्यालेसीबाट मुक्त छन् । ‘यात्रा बलैगाउँको, सम्झना बाल्यकालको’, ‘स्वर्ग विमानमा चढ्दा’, ‘श्रावस्तीमा बुद्धको प्रभाव’, ‘आलिगढ’, ‘रेलको संसार’, ‘यमुना किनारमा ताजमहल नियाल्दा’, ‘राधा खोज्न वृन्दावनमा’ जस्ता उत्तर भारतीय भूगोल–केन्द्री नियात्राहरूमा पाइने सम्मोहन एउटा आम मान्छेका आँखाले देखेको र जीवनले भोगेका यथर्थहरूमा उभिएको छ । नत्र, नियात्राहरूमा, रेल चढ्न झुक्किनु, प्लेटफर्म खोज्ने क्रममा सकस भोग्नु, शववाहनका चालक र सफाइ कर्मचारीबीच मिलेमतो हुनु, रेलयात्रामा धम्कीपूर्ण व्यवहारको सामना गर्नु आदिजस्ता मसिना विषय यसरी रोमाञ्चक तरिकाले आउँदैनन् । भनौँ, आकाशमा आँखा हुने नियात्राकारहरूले यस्ता कुरा देख्दैनन् । देखे पनि लेख्दैनन् । सागरको नियात्राको सौन्दर्य यस्तै सूक्ष्म–दृश्यहरूमा खोजिनुपर्छ ।

जहाँसम्म विदेशको यात्राको प्रश्न छ, त्यसमा पनि सागर ब्रान्डको रोमाञ्चकता कायम छ । बालीमा हिन्दू धर्मको प्रभाव, समुद्रसँगको साक्षात्कार र त्यहाँका टापुवासीहरूको जीवन सम्मोहक लाग्छ । त्यसमाथि, सागरको काव्यिक र सुरुचीपूर्ण चित्रणले संस्मरणलाई मनोहारी बनाएको छ । उदाहरणका लागि हेरौँ ‘बाली यात्राको नालीबेली’ शीर्षकको नियात्रामा प्रयुक्त यी हरफहरू मान्छेको जिन्दगी भन्नु पनि समुद्रजस्तै हुँदोरहेछ, छालहरू जस्तै उतारचढाउ आउँछन्, जान्छन् जीवनमा पनि । समुद्रहरू पनि सुन्दर र रहस्यमयी हुँदा रहेछन् जिन्दगीजस्तै । समुद्रमा सुनामीले ल्याउने उथलपुथलहरू जस्तै मान्छेको जीवनमा पनि दुःख कष्टहरू आउँछन् । तर ती सधैँका लागि चिरस्थायी रहँदैनन् । समुद्र देख्दा यस्तो लाग्यो कि जिन्दगीमा केही बन्नै छ भने समुद्रजस्तै फराकिलो बन्नुपर्छ । मान्छेहरू त स–साना खोल्साजस्ता विचार लिएर सर्पझैँ गुँडुल्किएका हुन्छन् । स–साना झमेलामा अल्झिएर अरूलाई डस्नमा नै उन्मुख देखिन्छन् । समुद्रझैँ फराकिलो मानव मन भइदिए हाम्रो समाज कस्तो हुँदो हो? समुद्र किनारमै सोचमग्न हुन्छु । (पृ. ९१)

‘थाइलेण्ड यात्रा’ को रोमाञ्चकता त्यहाँको वेश्यावृत्तिमा टिकेको अर्थतन्त्रको व्याख्यामा छ । मार्गदर्शकले पटायामा उत्रनासाथ ‘सिटी अफ प्रोस्टिच्युसनमा स्वागत छ’ भन्नु, आफैँमा एउटा अनौठो कुरा हो । सागरको अध्ययनको निचोड छ— ‘थाइल्यान्डको स्थानीय अर्थतन्त्र पूरै यौनमा आधारित देखियो ।’ यहाँ पर्यटकका लागि ‘सेक्स शो’ पनि हुन्छ – यो अर्को विष्मयकारी खुलासा हो । नेपालीहरू आक्कलझुक्कलमात्रै पुग्ने टर्कीको इस्तानबुल यात्रामा आधारिक निबन्ध ‘इस्तानबुलका यादहरू’ दुर्लभ सूचना र रोमाञ्चक अनुभूतिहरू दोभान हो । शासकसँगै धर्म बद्लिरहने सहरका अनेक भित्री रहस्य यहाँ खुल्छन् । यस रहरको रोमाञ्चक कथा, यहाँका मान्छेको बिरालो प्रेम, मेडुसाको किम्बदन्ती र त्यसमा आधारित भौतिक निर्माणहरू, अनेकौँ गेट र गल्लीहरूका बीच अवस्थित यहाँका बजार, फलफूलहरूले सराबोर यहाँको सहर, नजिकैको समुद्रमा हुने रोमाञ्कारी जलविहार, सबै सबै विष्मयकारी लाग्छन् । अरबको, विशेष गरी दुबई सहर, र यस आसपासको मरूभूमिको यात्राको विवरण पनि लोमहर्षक छ । यहाँको भौतिकीको सहती चित्रणभन्दा पनि दुबईमा, औषधिका नाममा आम नागरिक कसरी ठगिन्छन्, र यहाँका मरुभूमिमा सयर गर्न जाँदा कस्ता कस्ता मौसमी चटकको समाना गर्नुपर्छ यात्रुले, त्यो विशेष आकर्षणको छ । ‘मैले देखेको र बुझेको चीन’ भित्र वर्णित समर प्यालेस, तियानमेल स्क्वायर र ग्रेटवालको विवरण कतिपय पाठकलाई नितान्त नवीन नलाग्न पनि सक्छ, तर साङ्घाईको ‘म्याडम तुसार म्युजियम’, र यहाँ पाइने विश्वका धेरै माहान मान्छेहरूको जीवन चरित्रको रेप्लिकाको वर्णन आफैँमा आद्भूत र विष्मयकारी लाग्छ । अँ, समुद्री सतहभन्दा धेरै माथि नरहेको, र समुद्रको जलका सतह निरन्तर बढिरहेको सन्दर्भमा, यति भव्य साङ्घाई सहर, ढिलो चाँडो समुद्रमा डुब्न सक्छ भन्ने त्रासद सूचनाले पाठकको गला समाउँछ पनि ।

सङ्ग्रहको अन्तिम निबन्ध अजरैजानको राजधारी बाकुको सम्झनामा समर्पित छ । नेपाली नियात्राकारहरूले यस भूगोलको त्यति यात्रा गरेको र केही लेखेको पढ्न पाउनु आफैँमा दुर्लभ कुरा हो । यस निबन्धमा सागरले सोभियत संघसँग छुट्टिएपछि अजरबैजानले गरेको अभूतपूर्व विकासको सूक्ष्म अध्ययन र चिन्तन प्रस्तुत गरेका छन् । यहाँका तालतलैया, हिउँमा स्कीको खेल, केबुल कार, ज्वाला ओकल्ने पहाड, यहाँका मानिसहरूको चेसप्रेम, र यहाँ देखिने रुसी जीवन र चिन्तनको प्रभाव, नेपाली पाठकका लागि विशेष चाखका विषय हुन् ।

सागर गैरेको नियात्राकारिताका सामथ्र्यको मूल्याङ्कन गर्ने हो भने, दुईचार कुरा रेखाङ्कन गर्न सकिन्छ । उनी एक सूक्ष्मदर्शी यात्री हुन्, र उनका आँखा जमिनमा हुन्छन् । उनी यात्रा गरिएका स्थानका बाहिरी भव्यताबाट त्यति प्रभावित हुँदैनन्, जति त्यहाँका आम मान्छेको दैनिकीबाट प्रभावित हुन्छन् । उनीसँग विश्वसाहित्य, इतिहास र परिघटनाको यथेष्ठ जानकारी छ र जहाँ सटिक हुन्छ, त्यहाँ उनी त्यस्ता कुरालाई नियात्रामा मिसाउन खप्पिस देखिन्छन् । कवि वा आख्यानकारको जस्तो सम्मोहनकारी भाषा र अभिव्यक्ति शैली छ । नियात्रालाई सुरुचीपूर्ण बनाइरहनका निम्ति चाहिने, एकपछि अर्को रहस्य र कौतुहल सिर्जना गर्ने दुर्लभ क्षमता छ ।

तर, नियात्राकार सागर गैरेको नियात्राकारितामा केही दोषहरू पनि छन् । उनी अङ्ग्रेजीमा भनिने ‘हेस्टी जेनेरलाइजेशन’ यानि, एउटा उदाहरणमा टेकेर समग्रताको व्याख्या गर्ने भूल गरिरहन्छन् । उदाहरणका लागि, आफ्नो भारत यात्रामा उनले भोगेका एकाध घटनाका आधारमै उनीभित्र व्याप्त भारत–विरोध उनका कलमबाट तप्किन्छ । उदारहणमा, भारतीय किसानहरूका सन्दर्भमा उनी लेख्छन्— ‘उत्पादन बढाउनुसँग मात्रै उनीहरूको सरोकार हुन्छ ।’ (३६) । अर्को ठाउँ भन्छन्, ‘बाँच्नलाई गुलामी गर्न भारत छिरेका नेपालीहरूलाई ‘बहादुर’ भन्दै गुलाम बनाइरहका छन् भारतीयहरू’ (३९) । अर्को प्रसङ्गमा, भारतीयहरूकै बारेमा लेख्छन्, ‘उत्तर नदिनु यिनीहरूको धर्म होला सायद ।’ (५०) । यी कुरा आंशिक सत्य होलान्, तर पूर्ण सत्य कदापि पनि होइनन् । अधिकांश नेपाली लेखकहरूभित्र काई बनेर जमेको भारतविरोध यसरी निस्कन्छ, जसले लेखकको दृष्टिकोण पूर्वाग्रही छ भन्ने कुरा सतहमा ल्याउँछ । त्यसले, आलेखको विश्वसनीयता घटाउँछ ।

कतिपय सन्दर्भमा सागरका कथन र निचोड भ्रामक, विवादास्पद र अविस्वसनीय लाग्छन् । ‘विश्व साहित्यका महानायक कृष्ण र महानायिका राधा’ भन्ने कथनलाई पुष्टि गर्न सकिँदैन । इन्डोनिसयाको बालीका बजारमा नेपाली पैसा चलाइएको कुरा सत्य त होला, तर विश्वास गर्ने आधार छैन । कवि मेथ्यू आर्नोल्डले लेखेको कविता ‘डोभर बीच’ लाई उनी ‘पृथ्वीको गर्ममा रहेको आगाको लाभाहरूबाट पृथ्वीलाई चिस्याइराख्न सतहमा रहेका जलाशयहरूको महत्तवबारे लेखिएको’ कविता मान्छन्, तर यो त्यसो होइन । बेङ्ककको विमानस्थल ‘स्वर्ण भूमि’ नभएर ‘सुवर्णभूमि विमानस्थल’ हो । ओरान पामुकले ‘इस्तानबुल मेमोरिज एन्ड द सिटी’ लेखेरै सन् २००६ को साहित्यतर्फको नोबेल पुरस्कार पाए भनिएको छ, तर यिनले केवल यस पुस्तकका लागि नभएर समग्र योगदानका लागि उक्त पुरस्कार पाएका हुन् । ‘बाकु विश्वकै सबैभन्दा तीव्र गतिमा परिवर्तन भइरहेको सहर हो’ भनिएको छ, तर यसको मापन कसरी गरियो, थाहा छैन ।

अर्को कुरा, नियात्राका बौद्धिक पाठकले आस गर्ने भनेको थिक डेस्क्रिप्सन, यानि सघन विवरण पनि हो । तर, कतिपय सन्र्भमा सागरले विषय उप्काएर मात्रै छोडेका छन्, तर त्यसको आन्तरिक ज्ञानबाट पाठकलाई वञ्चित राखेका छन् । लेख्छन्— ‘हामीले पढ्ने बालीको कथा र बाली द्वीपको नाम एउटै रहनुसँग कुनै साइनो देखिएन ।’ यहाँ, किन र कसरी भनेर सोध्ने पाठकको हक छ । वास्तविकता के रहेछ, उनीहरूले जान्नुपर्छ । तर, सागरले उधारो जिज्ञासा छोडेर भागेका छन् । इस्तानबुल एयरपोर्टमा उनलाई धेरैबेर किन रोकियो, त्यसबारे ‘मलाई किन रोकियो रहेछ? न उनले भने, न त मैले नै सोधेँ’ भनिदिएर पन्छिएका छन् । सोध्नुपर्ने । जान्नुपर्ने । र पाठकलाई भन्नुपर्ने नि । अरबैजानको प्रसङ्गमा उनी भन्छन्, ,‘म त अजरबैजानमा रसियन प्रभाव खोज्नमा मस्त पो रहेछु’, तर त्यो रसियन प्रभाव कति त कहाँ देखियो, त्यो बनाउँदैनन् । कुनै तथ्याङ्कले यस कथनलाई पुष्टि पनि गर्दैन ।

यस्ता करिङमिरिङ हटाएर सागरले नियात्रालाई अझै विश्वसनीय र छरितो बनाउन सक्छन् । अनाहकमा गरिने तुलनाहरूका बारेमा पनि सचेत हुनुपर्छ जस्तो लाग्छ । ‘रेलको झ्यालबाट छिनछिनमा बदलिने दृश्यहरू हेर्दै म मुग्ध भइरहेको थिएँ । कहाँको नेपाल, कहाँको चीन’ जस्ता तुलनाको तुक छैन । अथवा, मलेसियन विमानस्थलको चेकजाँच र काठमाडौँ विमानस्थलेको चेकजाँचको तुलना नेपालीहरूमा एक प्रकारको हीनताको बोध गराउने उपक्रम हो र यो पनि खासै अर्थपूर्ण छैन । ताजमहल, बुर्ज खलिफा र ग्रेटवालको निर्मितिको इतिहासका कुरा अन्यत्र पनि सजिलै पढ्न पाइन्छ । यी प्रसङ्गमा ताजापन खोज्नु वाञ्छनीय छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १६:५३   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।