अध्यक्ष जेपी नड्डालाई भेटेर भाजपा कार्यालयबाट बाहिरिँदै गर्दा दाहालले ढुक्कसँग भनेका थिए, ‘क्लाइमेक्स अझै बाँकी छ ।’ तर लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेको सूचना आयो, दाहालको दिल्ली कथा यसपालि अपूरै रह्यो ।
नयाँदिल्ली । माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्किएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा आएका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट्न पाएनन् । कार्यसूचीमा मोदीसँगको भेटबारे औपचारिक रूपमा कतै उल्लेख थिएन तर भेट हुने जानकारी उनकै सचिवालयले दिएको थियो ।
मोदीसँगको भेट दाहालका लागि कति महत्त्वपूर्ण थियो भन्ने उनी आफैंले स्पष्ट पारेका छन् । तेस्रो दिन आइतबार बिहान नड्डासँग भेटवार्ता गरेर बाहिरिँदै गर्दा दाहालले भनेका थिए, ‘क्लाइमेक्स बाँकी छ ।’ तर लगत्तै उनले मोदीको समय नमिलेको सूचना पाए ।
मोदीसँग भेट नभएकोमा उनी आफैं पनि चकित देखिएका छन् । काठमाडौं विमानस्थलमा ओर्लनासाथ उनले भने, ‘पौने १ बजेको थियो । र, १ बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो । समयमै एयरपोर्ट जानुपर्छ भनेर अलि हतार गरेर मोदीजीलाई भेट्न निक्लियौं, होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने (खबर) आयो ।’
भेट किन हुन सकेन भन्ने मेसो नपाएको पनि दाहालले खुलाए । ‘अब किन हो भन्ने तपाईंहरू जस्तै मैले पनि थाहा पाएको छैन । एउटा त के हो भने बिजेपी प्रेसिडेन्टले बोलाएको हुनाले उहाँले अन्तिम भेट गरिसकेपछि क्लाइमेक्स त्यही हो भन्ठानेर हो कि भन्ने पनि उहाँहरूले चर्चा गर्नुभयो,’ दाहालले भने, ‘अहिले सम्भव भएन भन्ने आयो । मलाई त्यसले केही टेन्सन छैन । भएको भए भेट्ने र फोटो खिच्ने कुरा हुन्थ्यो होला । त्योभन्दा बढी समय थिएन ।
‘क्लाइमेक्स’ को प्रतीक्षामा रहेका उनको राजनीतिक नियात्रा यसपालि अपूरो नै रहेको छ । तर, मोदीसँगको भेट हुन नसकेको विषयलाई कसरी मूल्यांकन गर्ने भन्ने विषयमा उनी अझै अलमलमा छन् । उनले भेट अन्तिममा रद्द भएको बताए पनि स्वकीय सचिव रमेश मल्लले भने मोदीसँग भेटघाट भ्रमणको तालिकामा नरहेकाले भेट भएन भन्न नमिल्ने प्रतिक्रिया दिए ।
‘भाजपा अध्यक्ष नड्डाजीसँग भेटघाट भ्रमणको प्रमुख एजेन्डा थियो, मोदीजीसँग समय मिलेको खण्डमा भेट हुने सम्भावना वा अनुमान मात्रै गरिएको थियो,’ उनले कान्तिपुरसँग भने ।
दाहालले दिल्ली उत्रिएकै दिन विदेश सचिव विनयमोहन क्वात्रा तथा दोस्रो दिन विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए । पहिलो रात विदेश सचिव क्वात्राले र दोस्रो रात भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले रात्रिभोज दिएका थिए । तेस्रो दिन आइतबार बिहान साढे ११ बजे दाहालले भाजपा अध्यक्ष नड्डालाई भेटेर अन्तर्क्रिया गरेका थिए ।
तर दाहालकै लागि पनि प्रतीक्षा भने मोदीसँगको भेटमै थियो । यद्यपि भारतीय पक्षले भने माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री मोदीसँग भेटघाटको तालिका नै नरहेको जनाएको छ । ‘प्रधानमन्त्रीजीको समय उपलब्ध भएमा भेटाउन सकिने कुरा भएको हुन सक्छ,’ दाहालको भ्रमण तयारीमा संलग्न एक भारतीय अधिकारीले भने, ‘सेड्युलमै नरहेको विषयलाई रद्द भन्न मिल्दैन ।’ उनका अनुसार सोमबार भारतमा राष्ट्रपतिको चुनाव रहेकाले र अन्य पूर्वनिर्धारित कार्यक्रम तथा व्यक्तिगत व्यस्तताले मोदीको समय मिल्न सक्ने स्थिति थिएन ।
दाहालले शनिबारको एक प्रवचन कार्यक्रममा सीमा विवाद, १९५० को सन्धि र ईपीजी प्रतिवेदनसम्बन्धी विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने कुरा उठाएका थिए । त्यो प्रसंग अन्य भेटघाटमा पनि राखेको दाहाल स्वयम्ले बताएका छन् । त्यस्तै भैरहवा विमानस्थलको एयररुट तथा तराईको डुबानका विषयमा पनि कुरा राखेको उनले जनाएका छन् । त्यही कारण पनि मोदीसँगको भेटघाट मिलाउन विदेश मन्त्रालयले अनिच्छा देखाएको भारतीय पत्रकारहरूको विश्लेषण छ । त्यस्तै नेपालमा सन्निकट चुनावअघि कुनै एक दलका नेतासँग प्रधानमन्त्रीले भेट्नु बेठीक हुने भन्ने विषयमा पनि दिल्लीमा चर्चामा छ । ‘अहिले दाहालसँग भेट्दा भोलि भाजपाको निमन्त्रणामा आएका अन्य पार्टीका अध्यक्षलाई पनि मोदीले भेट्नुपर्ने अवस्था सिर्जना हुन सक्छ,’ दाहालको भ्रमणको रिपोर्टिङ गरिरहेका भारतीय पत्रकारहरूको भनाइ छ ।
दाहालले भने आफ्नो भ्रमण सोचेअनुसार नै फलदायी भएको बताए । ‘म जस्तो सोचेर भारत आएको थिएँ, त्यस्तै भएको महसुस भएको छ,’ उनले कान्तिपुरसित भने, ‘डुबानको समस्या समाधानका विषयमा तुरुन्तै अगाडि बढ्नेसम्मका कुराकानी भएको छ । त्यसका साथै व्यापार घाटा कम गर्ने सन्दर्भमा कदम चालिनुपर्छ भन्ने सन्दर्भमा पनि एउटा सकारात्मक कुरा भएको छ । र, भारतीय पक्ष त्योप्रति सकारात्मक भएको मैले पाएँ ।’
उनले प्रधानमन्त्री–पत्नी आरजु राणा र आफ्नो भेटमा कुनै राजनीतिक पृष्ठभूमि नरहेको दाबी पनि गरे । ‘हेर्नुस्, उहाँ आफ्नै ढंगले स्वास्थ्य उपचारका लागि आउनुभएको रहेछ । नेपाली दूतावासले आयोजना गरेको ब्रेकफास्टमा उहाँसँग भेट भएको हो । त्यहाँ उहाँको स्वास्थ्यबारे चासो राख्दै स्वास्थ्यलाभको कामना गर्ने हिसाबले मात्रै कुराकानी भयो । त्यसभित्र हुँदा नहुँदाको अर्थ खोज्ने, शंका गर्ने, शंक फैलाउने गर्नु बिल्कुल उचित होइन ।’
उनले हिन्दु धार्मिक दल भाजपासँग माओवादी कम्युनिस्ट पार्टीको सम्बन्ध विस्तारलाई पनि स्वाभाविक भएको टिप्पणी गरे । ‘भाजपा सरकारको नेतृत्वमा छ । भारतीय जनताले उसलाई अगाडि ल्याएका छन् । अब अहिले भजापालाई नखोजेर अरूलाई खोज्ने त ? वैचारिक विरोध, विमतिका कारणले डिल नगर्ने कुरा त हुनै सक्दैन । त्योभन्दा वाहियात कुरा केही नै हुँदैन,’ उनले भने ।
भाजपा चिनियाँ कम्युनिस्ट पार्टीभन्दा पनि ठूलो रहेको जानकारी आफूले दिल्लीमै पाएको उनले बताए । उनको भनाइ थियो, ‘अहिले भाजपा भारतको सबैभन्दा ठूलो पार्टी त हुँदै हो । १७ करोड सदस्य रहेछन् । चिनियाँ कम्युनिस्ट पार्टी ठूलो होला भन्ने ठान्थ्यौं हामीले । त्यो त ९ करोड जति सदस्य भएको पार्टी हो । यो त झन् ठूलो पार्टी रहेछ ।’
अब एक/दुई साताभित्रै निर्वाचन घोषणा हुने र अहिलेको गठबन्धन कायम रहने उनको दाबी छ । तर, प्रधानमन्त्रीमा आलोपालो गर्न भने उचित समयमा छलफल हुने उनले बताए । ‘मैले बुझेको चाहिँ प्रधानमन्त्री देउवाजी यो विषय (आलोपालो) मा लचिलो हुनुहुन्छ । सकारात्मक हुनुहुन्छ,’ दाहालले भने, ‘यो विषयमा पनि एउटा बिन्दुमा पक्कै पनि छलफल हुन्छ भन्ने मलाई विश्वास छ ।’
भारतीय जनता पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहालको भ्रमण दुई प्रमुख राजनीतिक दलहरूबीच सम्बन्ध विस्तारका लागि ‘कोसेढुंगा’ सावित हुने जनाएको छ । भाजपाले विज्ञप्ति जारी गर्दै भ्रमणले दुई देश र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ ।
पार्टी कार्यालयमा माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गर्दै भाजपा अध्यक्ष नड्डाले दुई दल आपसी सम्बन्धलाई धेरै तहमा प्रवर्द्धन गर्न तयार रहेको बताएका थिए । उनले नेपाल सधैं भारतको ‘पहिलो छिमेकी’ नीतिको केन्द्रमा रहने जनाए । दुवै देशका प्रधानमन्त्रीको हालै भएको भ्रमण आदानप्रदानले दुई छिमेकीबीचको सम्बन्ध थप प्रगाढ बनाएको पनि उनले उल्लेख गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।





















प्रतिक्रिया