Logo

राजनीति

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह



काठमाडौं । गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिएको छ । नागरिकता अध्ययन कार्यदलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर विधेयक प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दियो ।

नागरिकता विधेयकलाई चरम राष्ट्रघाती भएकोले राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने औंल्याए । देशभक्त नागरिकको हैसियतले आफूहरुले यो विधेयकविरुद्ध अभियान नै चलाएको उनले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्था विपरित भएको टिप्पणी गरे । देशभक्त नागरिक समाजका गोविन्द बोहोराले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मदन भण्डारीको उद्देश्य र भावनालाई स्मरण गर्न आग्रह गर्दै नागरिकता विधेयक फिर्ता गर्न आग्रह गरे ।

प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पुगेको विधेयक अहिले अध्ययन भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यस विधेयकलाई प्रमाणिकरण नगर्न भन्दै प्रत्यक्ष तथा परोक्ष रुपमा चौतर्फी दबाब बढ्दो छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १८:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।