काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको ग्याङले देश लुटिरहेको भन्दै कटाक्ष गरेका छन् । उनले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने देशमा अझै विनाश हुने भन्दै अब निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए ।
आफू सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास भएको दाबी गर्दै ओलीले अहिलको सरकारले जहाँ छोयो त्यहाँ खरानी पारेको आरोप लगाए । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतवार काठमाडौंमा गरेको कार्यक्रममा उनले देशलाई बचाउनका लागि आगामी निर्वाचनमा एमालेको बहुमत आवश्यक रहेको बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति इंगित गर्दै ओलीले भने, ‘केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेका छन् ।’ उनले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहको बताए ।
प्रचण्ड र माधव नेपालहरू कांग्रेस नामको बञ्चरोको बींड भएको र उनीहरूको कुनै अस्तित्व नै नरहेको ओलीको भनाइ छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफू दोस्रो हुनका लागि उनीहरू कांग्रेसको पछि हिँडेको बताए ।




















प्रतिक्रिया