मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गाविसहरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत मिलाई सरकारले २०७३/११/२७ गते राक्सिराङ्ग गाउँपालिका गठन गर्याे । भौगोलिक रुपमा जिल्लामा सबैभन्दा विकट मानिने यो पालिकामा चेपाङ समुदाय बाहुल्यता छ । त्यहाँको जनताको आर्थिक अवस्था कम्जोर छ । सरकारले जनसंख्याको आधारमा मात्रै नभएर भौगोलिक विकटताको पनि आधार मानेर स्थानीय तहलाई बजेट दिनुपर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । दोस्रो कार्यकालका लागि दोहोरीएका मल्लसँग राक्सिराङ्गको हालको अवस्था, यसअघिको कार्यकालको समीक्षा र आगामी योजनाहरुको बारेमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :
राक्सिराङ्ग गाउँपालिकामा बाढी—पहिरोको विपत्तिहरुको अवस्था कस्तो छ ? कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
अहिले राक्सिराङ्गमा बाढी—पहिरोले धेरै क्षति गरेको छैन । अहिलेसम्मको अवस्था समान्य नै छ । धेरै बस्तीहरुमा जोखिम भने कायमै छ । यहाँको पूरै जमिन भिरालो भएकोले बर्खामा सधैँ, सबै ठाउँमा पहिरोको जोखिम छ । हामी निरन्तर अनुगमनमा छौं । आज (२३ साउन) राक्सिराङ्ग ९ खैराङमा हामी आइपुगेका छौं । यो धादिङ जिल्लासँग सीमाना जोडिएको ठाउँ हो । पालिका कार्यलयबाट यो निकै टाढा पर्छ ।
हाम्रो पालिकामा यो वर्ष हालसम्म खासै विपद्का घटना घट्को छैन । तर अविरल वर्षाका कारण जोखिम बढेपछि हामी प्रत्येक वडाका स्वयंसेवकसहित तयारी अवस्थामा छौं । वडा नम्बर ५ को कृषि डाँडा भन्नेमा हाम्रो २२ घर जोखिममा छ । त्यहाँको अति जोखिम भएको ४ घरलाई हामीले ठूलो पानी पर्दा चर्जमा बस्नु भनेका छौं । त्यहाँको त्यो २२ घरलाई स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।
हामीले उद्धार र व्यवस्थापनका लागि जिल्ला व्यवस्थापन समितिसँग समन्वय गरेर प्रत्येक वडामा ५ देखि १० जनासम्मलाई विपद् व्यवस्थापनको तालिम दिएर राखेका छौं । उद्धार टोली पनि तयार गरेका छौं । यसरी हामीले पूर्व तयारीका कामहरु गरिरहेका छौं । हामीसँग भएका स्रोत साधनलाई तयार गरेर घटना घटेमा तत्काल व्यवस्थापन गर्ने हाम्रो तयारी छ ।
तपाईँ दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ । पहिलो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?
हाम्रो राक्सिराङ्ग गाउँपालिका एकदमै विकट गाउँपालिका हो । हामी पहिलो कार्यकालमा निर्वाचित भएर आउँदा यहाँबाट जिल्ला जाने बाटो नै थिएन । हामीले अहिले प्रत्येक वडामा पालिकासँग जोड्ने बाटो पु¥याएका छौं । ती बाटोहरु ९ महिना चल्छन् । अब हामीले यो कार्यकालमा बाटालाई १२ महिना चल्ने बनाउने, स्तरीकरण गर्ने र सडक पुल पनि बनाउने योजना बनाएका छौं ।
यहाँ अति विपन्न चेपाङ समुदायको बसोबास छ । उनीहरुको आम्दानीको स्रोत बढाउनका लागि हामीले कृषि पकेट क्षेत्र बनाएर कामहरु अगाडि बढाएका छौं । यहाँको उत्पादनलाई बजारसँग जोड्ने हाम्रो योनजा छ । पहिलो कार्यकालमै हामीले सबै वडामा वडा कार्यलय भवन बनाएका छौं । अब फरि पक्की भवन बनाउन योजना ल्याएका छौं । त्यसैगरी गाउँपालिका भवन पनि निर्माणाधीन अवस्थामा छ । त्यसैगरी हामीले अन्य कृषि, शिक्षा, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा विकास गर्दै आएका छौं अब हामी ती कामहरुलाई निरन्तरता दिनेछौं । त्यसैगरी हामीले केन्द्र र प्रदेशको सहयोगमा परेवाभिरको बाटो बनाएका छौं ।
राक्सिराङ्गवासीले तपाईँलाई फेरि पाँच वर्षका लागि पालिकाको नेतृत्व सुम्पिएका छन् । तपाईँको आगामी योजनाहरु चाहिँ के—के छन् ?
गर्नै पर्ने यहाँको पहिलो काम भनेको विपन्न नागरिकहरुको जीवनस्तर उकास्ने हो । मैले अगाडि पनि भनीसकेँ । यहाँको पर्यटन, कृषिलगायतका क्षेत्रको विकास मार्फत यहाँकै स्रोतसाधन प्रयोग गरेर हामीले यहाँका जनताको जीवनस्तर सुधार्नु छ । जनतालाई आयमूलक काममा जोड्ने हाम्रो योजना छ ।
त्यसैगरी स्वास्थ्य र शिक्षामा पनि पहिलेको भन्दा केही सुधार भएको छ । शिक्षामा हामीले बाली विज्ञान पढाउन सुरु गरेका छौं । त्यसमा अझै राम्रो गरेर जानु पर्ने छ । यहाँ सिटामल पनि आउँदैनथ्यो । कसैले औषधी नै खाँदैनथे । सबै धामी, झाँक्रिमा विश्वास गर्थे । अहिले हामीले यसमा परिवर्तन ल्याएका छौं । स्वास्थ्य चौकीमै गएर बच्चा जन्माउने व्यवस्था मिलाएका छौं । सुत्केरीलाई पाँच हजार भत्ताको व्यवस्था गरेका छौं । स्वास्थ्य विमालाई ७५ प्रतिशत छुट दिने गरेका छौं । २४ सय ४८ घरलाई नेपाल सरकारले गरिबीको सूचिमा राखेको ती घरहरुलाई ७५ विमा पालिकाले व्यहोर्ने व्यवस्था ल्याएका हौं ।
यहाँ चट्याङ जोखिम भएकोले हामीले अर्थिङ राख्नलाई एक घरलाई ५ हजार दिने योजना ल्याएका छौं । बुहारीलाई महिनाको दुई हजारको दरले छात्रावृत्ति दिने व्यवस्था ल्याएका छौं । चेपाङका छोरीहरुले ८ बाट माथि पढेका महिनाको पाँच सय छात्रावृतिको व्यवस्था ल्याएका छौं । यो कार्यक्रमले बालविवाह न्यनीकरण हुने हामीले अपेक्षा गरेका छौं । त्यसैगरी सामाजिक विकासका, लक्षित वर्गका कार्यक्रमहरु पनि धेरै छन् । पहिले पुर्वधारहरु थिएन् । हामीले सुधार्दै ल्याएका छौं ।
हामीले अहिले ठेक्का लगाउने काम गरिरहेका छौं । अहिले बर्खामा ठेक्का लगाए, हिउँदमा छिटै काम गर्न पाइन्छ । चैत मसान्तसम्ममा काम सक्नेगरी हामीले कार्ययोजना पनि बनाएका छौं । हामीले पालिकाबाट राजमार्ग जोड्ने बाटो र चेपाङ संग्राहलयलाई गौरवको आयोजनामा राखेर काम गरिरहेका छौं ।
राक्सिराङ्ग गाउँपालिकामा विकास कार्य अघि बढाउन के—कस्ता समस्या र अवरोधहरु छन् ?
सबै भन्दा ठूलो समस्या संघीयताको मर्म अनुसार नीतिनियमहरु बनेका छैनन् । संघ सरकारले नीति नबनाउने, हस्तक्षेप गर्ने, कर्मचारी संयन्त्र आफ्नो हिसाबले चलाउने, यी नै हाम्रा समस्या हुन् । जस्तो शिक्षा ऐन बनेको छैन । २८ सालको शिक्षा ऐनलाई शंसोधन गर्दै आइरहेको छ ।
स्थानीय सरकारले के—कति काम गर्ने भन्नेमा अस्पष्ट छ । संविधान अनुसार नीति नियमहरु बनेका छैनन् । प्रदेश र संघले पठाएको टुक्रे योजनाहरु कर्मचारीले काम नगरेर फर्किएर जान्छ । हामीले निर्णय गर्ने हो । काम गर्ने कर्मचारीले हो । कतिपय कर्मचारीले राम्रो काम गर्दिदैनन् । यस्ता समस्याहरु छन् । सुगममा पनि दुर्गममा पनि जनसंख्याको आधारमा बजेट छुटिन्छ । त्यसले हामी मारमा परेका छौं । हामीसँग आन्तरिक स्रोत कम हुन्छ । विकटताको आधारमा बजेट छुटिने हो भने हामीलाई सहज हुन्थ्यो ।
यो कार्यकालमा राक्सिराङ्गको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्ने योजना छ ?
यहाँको विकासको लागि हामी सबैसँग समन्वय गर्ने छौं । संघ सरकारसँग राम्रो छ । तर प्रदेश सरकारले हामीलाई जानकारी नै नगराई बजेट हाल्दा दोहोरो बजेट पर्ने र त्यसो हुँदा दिगो विकास हुँदैन । हामीले योजना बनाउँदा स्थानीयवासी, संघसंस्था लगायत सबैसँग समन्वय गरेका छौं । टोल–टोलबाट आएका योजनाहरुलाई नै हामीले बजेटमा समेटेका छौं ।
थप केहि भन्नु छ ?
अहिले बर्खाको समय छ । जुनकुनै बेला पहिरो आउन सक्छ । हामीले सबै प्रविधिहरु अपनाएर सतर्क रहन आग्रह गरिरहेका छौं । म तपाईँको मिडिया मार्फत पनि राक्सिराङ्गवासी लगायत देशैभरीका जनतालाई सतर्क रहन आग्रह गर्छु । हामीले यो आर्थिक वर्षमा चैत मसान्तसम्ममा काम सक्नेगरी कार्ययोजना बनाएका छौं । त्यसमा सबैको साथ पाउने अपेक्षा लिएको छु ।





















प्रतिक्रिया