काठमाडौं । टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने घोषणा गरेका छन् । टोखा–१० गोंगबुका बासिन्दा खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।
खनालले दीर्घकालीन राष्ट्रिय स्वार्थभन्दा क्षणिक स्वार्थमा हराई रहेको नेतृत्वको छेउमा बसेर चुपचाप हेरेर परिवर्तनको आशा गरीराख्न मनले नमानेको भन्दै आफै मैदानमा उत्रने निर्णय गरेको उल्लेख गरेका छन् । ‘देशको समग्र दिशा परिवर्तनका लागि राजनीति महत्त्वपूर्ण र अपरिहार्य मार्ग हो भन्ने बोध सानै उमेरदेखि हुँदा हुँदै पनि राजनीतिमा सक्रिय रुपमा प्रवेश गर्ने आँट निकाल्न सकेको थिइन’, खनाल भन्छन्, ‘दीर्घकालीन राष्ट्रिय स्वार्थ भन्दा क्षणिक स्वार्थमा हराई रहेको नेतृत्वको छेउमा बसेर चुपचाप हेरेर परिवर्तनको आशा गरीराख्न अब मनले मानेन ।’
आफूले पढेको विषय पनि सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा काम गरेकाले संसदमा गएर नीति निर्माणको काम गर्न चुनाव लड्न लागेको खनालले बताएका छन् । ‘सक्रिय राजनीतिमा लागेर विश्वस्तरका विश्वविद्यालयबाट सार्वजनिक नीति र राजनैतिक अर्थशास्त्रमा आर्जन गरेको ज्ञान, शिक्षा र समुदायको खारिएको बुझाई, तुलसीपुर उपमहानगरपालिकामा निर्माण गरेको नीति र परिवर्तनका मार्गचित्र र उद्यमशीलताका पाठहरूलाई देशको वृहत् हितमा लगाई उपयोगमा लगाउने विचार सहित नयाँ आँट गरेको छु’, उनले भनेका छन् ।
खनालले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । काठमाडौं–६ मा २०७४ को चुनावमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका हुन् ।




















प्रतिक्रिया