Logo

शिक्षा

स्थानीय तहमा स्थानीय पाठ्यक्रम



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।

पालिकाभित्रका कक्षा एकदेखि आठसम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले आफूहरु निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गरिएको बताए । ‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेसा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषतालाई उच्च प्राथमिकता दिइएको अध्यक्ष पौडेल बताउछन् ।

गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जीतबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति निर्माण भएको थियो । सो समितिले छ महिनाको अवधीमा पाठ्यक्रम तयार गरेको थियो ।

खास गरेर सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । “यो पाठ्यक्रम मात्रै हो तर हामी पाठ्यक्रमकको पनि तयारी गरिरहेका छौँ”, न्यौपाने भने । कक्षा, ६, ७ र ८ को लागि पाठ्यक्रम बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने बताइएको छ ।

पाठ्यक्रमले मूलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको उनले बताए । अध्यक्ष पौडेलले संविधानको मर्मअनुसार निर्माण भएको पाठ्यपुस्तक पाठ्यपुस्तकका रूपमा विद्यालयमा अध्ययन, अध्यापन सुरु गरिएको जनाउँदै स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशवारे ज्ञान र सीप प्रदान गर्ने यसको लक्ष्य रहेको उल्लेख गरे ।

पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ र यहाँको प्राकृतिक, सांस्कृतिक तथा सम्पदाको संरक्षण र संवद्र्धनलाई महत्व दिएको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ४ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।