सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनका क्रममा चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको जनाएको छ ।
सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा असार ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको बताए ।
उनले भने, “सुजिता भण्डारी दिदीकोमा जान्छु भनेर काठमाडौं गएको र सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ । विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अपहरणमा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत खुल्न आएको डीएसपी रानाले जानकारी दिए ।
सञ्चारकर्मीलाई उनले भने, “असार ९ गते सुजिता र सुकदेवबीच टेलिफोन सम्पर्क भएको देखिन्छ । त्यो क्रममा सुजिताले बिहे गर्न भनेको, सुकदेवले नमानेको र विवाद हुँदा सुजिताले मर्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको छ ।”
काठमाडौंमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुकदेवसँग पनि केही समय सँगै बसेको रानाले बताए । सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजु भाइ भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।
सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो । सुजिताको काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुलेन । कारण पत्ता लगाउन भिसेरा परीक्षणका लागि नमुना बुझाइएको छ ।
चितवन प्रहरीले पोस्टमार्ट रिपोर्ट र भिसेरा परीक्षण रिपोर्ट दुवै नआएको बताएको छ । एसपी ओम अधिकारी चाँडै नै दुवै प्रतिवेदन प्राप्त हुने बताउँछन् । पोस्टमार्टमा संलग्न एकजना चिकित्सक डा. गोपाल चौधरीले मृतकको शरीरमा प्राणघातक घाउ चोट नभएको बताए । त्यसैले भिसेरा परीक्षण आवश्यक भएको उनको भनाइ छ । भिसेरा परीक्षणका लागि नमुना खुमलटारको विधि विज्ञान प्रयोगशालामा पठाइको छ ।
प्रतिक्रिया