Logo

राजनीति

राष्ट्रपतिसमक्ष मोर्चाको अपील– मुलुकलाई सिकिमिकरण र फिजीकरण हुनबाट जोगाउनुस्



काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले नागरिकता विधेयक प्रमाणिकरण नगरी फिर्ता पठाउन राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । आज (बिहीवार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै मुलुकलाई सिकिमिकरण र फिजीकरण हुनबाट जोगाउन मोर्चाले आग्रह गरेको छ ।

नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै मोर्चाले संविधानले दिएको अधिकार प्रयोग गरेर उक्त विधेयक फिर्ता पठाउन भनेको छ । ‘यो देशलाई संविधानको पालना र संरक्षण गर्दै देशलाई सिकिमिकरण र फिजीकरण गरिन सक्ने हरेक कामकारबाहीबाट राष्ट्रपतिले सम्बन्धितलाई सचेत गर्न नमिल्ने हुनै सक्दैन । त्यसैले संविधानको धारा ११३ को संवैधानिक व्यवस्था प्राशंगिक छ’, मोर्चाको ज्ञापनपत्रमा भनिएको छ, ‘देशको न्यायपालिका संवेधानिक धारा २७५ को व्यवस्थालाई ध्यानगत गर्दै आमनेपाली जनताको अभिमतबारे विचार गर्न पनि महामहिम राष्ट्रपति समक्ष अनुरोध गर्दछौं ।’

सरकारले संसदमार्फत फास्ट ट्रयाकमा पारित गरेको नागरिकता विधेयकले नागरिकता जस्तो राष्ट्रिय पहिचानलाई विदेशीले सजिलै प्राप्त गर्ने हतियारका रुपमा प्रस्तुत गरेको आरोप पनि लगाएको छ । साथै देशमा जति पटक राजनीतिक परिवर्तन हुने गर्दछ तब–तब नागरिकतामाथि नै प्रहार हुने गरेको समेत बताएको छ ।

नागरिकता विधेयक प्रतिनिधि सभाले साउन ६ र राष्ट्रय सभाबाट साउन १२ गते पारित भएको थियो भने साउन १५ गते सभामुख अग्नि सापकोटाले प्रमाणिकरणका लागि साउन १५ गते शितलनिवास पठाएका थिए । राष्ट्रपतिले १२ दिनसम्म यो विधेयकलाई प्रमाणिकरण गरेकी छैनन् । राष्ट्रपति कार्यालय स्रोतले यो विचाराधीन अवस्थामै रहेको बताएको छ ।

माेर्चाकाे ज्ञापनपत्र हेर्नुहाेस्

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १९:२४   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।