Logo

धर्म / संस्कृति

‘खुवालुङ’को मञ्चन लम्बियो, अब भदौ ११ गतेसम्म चल्ने



काठमाडौं । मण्डला थिएटरमा साउन ६ गतेबाट मञ्चन भइरहेको नाटक ‘खुवालुङ’ थप केही समयलाई चल्ने भएको छ । साउन २९ गतेसम्म तोकिएको नाटकको मञ्चन अवधिलाई भदौ ११ गतेसम्म लम्बाइएको नाटकको निर्माण पक्षले जनाएको छ ।

किरण चाम्लिङ राईले निर्देशन गरेको नाटक खुवालुङको निर्माण पक्षका अनुसार विभिन्न जाति, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई नाटकमा देखाइएको छ। हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमि मान्यता र विश्वासमा खुवालुङको रुपमा मान्ने गरिएको छ।

खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरुको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षले जनाएको छ । नाटकका लेखक राजन मुकारुङका अनुसार सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटक कलाकामार्फत् भन्नु, कहनुपर्छ भन्ने जिम्मेवारी महसुस गरिएर यो नाटक लेखिएको हो।

त्यस्तै, नाटकका निर्देशक किरण चाम्लिङ राईका अनुसार खुवालुङ एउटा ढुंगा मात्रै नभएर यसका प्राकृतिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वहरु भएकाले त्यसलाई नाटकमा उतार्ने जमर्को गरिएको छ।

नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रशंसा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ । नाटक भदौ ११ गतेसम्म सोमबार बाहेक दैनिक साँझ ५ः१५ मा र शुक्रबार तथा शनिबार दिउँसो १ बजेपनि हेर्न सकिनेछ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १२:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।