काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दल र दलका नेताहरुले गरेका भ्रष्टाचार र उनीहरुकै कारण मुलुकमा देखिएको बेथितिको हिसाबकिताब सिंहदरबार प्रवेश गरेपछि माग्ने बताएका छन् । देश चरम राजनीतिक अवस्थामा जेलिएको भन्दै उनले जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।
शुक्रवार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले सर्वासाधारणले सानो देखि ठूलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने दुःखद् अवस्था सिर्जना भएको बताए । उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टीको हो भनेर जाँच गर्ने दिन आउन सक्ने बताए ।
लामिछानेले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । ‘हेटौंडा कपडा उद्योग जहाँ ११ सयभन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो’, उनले भने, ‘आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए ।’
उनले हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । उनले हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए । त्यसको हिसाब अब आफुहरुले सिंहदरबार प्रवेश गरेपछि मात्र माग्न सक्ने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत उनले गरे ।




















प्रतिक्रिया