Logo

अर्थ

बीस आना जग्गा हडप्ने माफियाले कराेडाैंकाे सम्पत्ति पनि चोरेर बेचिदिए, उत्तम कुमारको बिल्लाबाठ !

जाहेरी लिन प्रहरीद्वारा अस्वीकार



काठमाडौं । स्थानीय चुनावताका काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्दै आएका उत्तम कुमार घरमा ताल्चा लगाइराखेर गृह जिल्ला पर्सा गए । मताधिकारको प्रयोग गर्न भनेर स्थानीय निर्वाचन (३१ वैशाख) आउनु केही दिन अघि नै उनी पर्साको वीरगंज महानगरपालिका वडा नं. १ स्थित आफ्नो पर्ख्याैली घर पुगे । स्थानीय निर्वाचनपछि काठमाडौं फर्किँदा पहिला घर जुन अवस्थामा छाडेका थिए, त्यो भन्दा बिलकुल फरक थियो । ढोकाको ताल्चा तोडिएको थियाे । घर भित्रका धेरैजसो सामान चोरी भएका थिए भने केही सामान छतभरी भद्रगोल अवस्थामा फालिएको थियो ।

गरुदत्त पौडेल र भुमादेवी गौतम (श्रीमान्-श्रीमती) को नाममा रहेको उक्त घरमा उत्तम कुरमार बस्दै आएका थिए । उनीहरु (पौडेल दम्पती र उत्तम कुमार) बीच एउटा सहमित बनेको थियो– उक्त घर पौडेल दम्पतीले उत्तमलाई नामसारी गरिदिने, बदलामा उत्तमले आफ्नो बीस आना जग्गा उनीहरुलाई दिने । सिधा भाषामा भन्नुपर्दा ५ आनामा बनेको उक्त ५ तले घर र २० आना जग्गा साटासाट गर्ने सहमति उनीहरुबीच बनेको थियो ।

गुरुदत्त पौडेल विगतदेखि नै विभिन्न ठगी मुद्दामा मुछिँदै आएका व्यक्ति हुन् । वैदेशिक रोजगारीका नाममा ठगेको आरोपमा नवलपरासीको देवचुली नगरपालिका वडा नं. १३ घर भएका उनलाई वि.सं. २०६८ मा वैदेशिक रोजगार न्यायाधीकरणले डेढ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । तर त्यसलगत्तै फरार रहेका उनलाई करिब ११ वर्ष (२०७७/११/१६ गते) पछि केन्द्रीय अनुसन्धान व्यूरोले लुकिछिपी बसेका उनलाई बागबजारबाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो । उनले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट लाखौं रकम असुलेका थिए । उनले अहिले उक्त सजाय काटेर सफाइ पाइसकेका छन् ।

पौडेल दम्पतीको गलत नियतलाई नबुझी सहमति बमोजिम उत्तमले २० आना जग्गा उनीहरुको नाममा पास गराइहाले । तर पौडेल दम्पतीले उत्तमको नाममा घर नामसारी गरिदिन भने आनाकानी गरिरहे । जग्गा हडप्ने दाउ हेरेर बसेका उनीहरुले उत्तमलाई घर भने नामसारी गराइदिएनन् । बरु उल्टै घर खाली गराइदिन स्थानीय सरकारलाई गुहारे । राम्रै राजनीतिक पहुँच राख्ने पौडेलकै पक्षमा काठमाडौं महानगरपालिका वडा नं. ३२ ले उत्तमलाई घर खाली गर्न पत्र काटिरह्यो । तर उत्तमले पनि आफूबीच भएको सहमति बमोजिम घर आफ्नो नाममा पास गरिदिन भन्दै सजिलै घर खाली गर्न मानेन् । उनी उही घरमा बस्दै आएका थिए ।

स्थानीय तह निर्वाचनपछि काठमाडौं फर्किँदा घरमा भएको तोडफोड तथा चोरीडकैंती विरुद्ध उनी जाहेरी दिन प्रहरीकोमा पुगे । तर पौडेल दम्पतीविरुद्धको उक्त जाहेरी प्रहरीले लिन अस्वीकार गर्‍यो । विगतमा वडाले खाली गराउनका लागि ताकेता गर्दै आएकाले वडामा पनि बुझ्न प्रहरीले भन्यो । तर वडाले अहिले त्यसमा आफ्नो संलग्नता नरहेको भनी प्रष्ट्याइसकेको छ । ‘उत्तम कुमारको यस वडा कार्यालयमा परेको निवेदन सम्बन्धमा निजले उक्त घर खाली गर्न भनि विभन्नि मितिमा यस वडाबाट सूचना जारी भएको तर उल्लेखित कि.न. २३२ म ाबनेको घर खाली गर्ने कार्य यस वडा कार्यालयबाट नभएको व्यहोरा जानकारी गरिन्छ’, वडाले भनेको छ ।

पौडेल दम्पतीसहित काठमाडौं २६ म्हैपी बस्ने मेनुका खड्का र लक्ष्मी (थर थाहा नभएको) विरुद्ध ‘डाँका’ सम्बन्धीको कसुर गरेका जिकिर गरेर उत्तमले जाहेरी दिन खोजेका थिए । तर प्रहरीले अहिलेसम्म उक्त जाहेरी नलिएर पीडकलाई नै साथ दिएको पीडित उत्तम कुमार बताउँछन् । ‘दुई महिनायता म जाहेरीका लागि प्रयास गरिरहेको छु । तर प्रहरीले अनेक बहनामा जाहेरी लिन मानेको छैन’, उनले भने, ‘प्रहरी पनि पीडककै पक्षमा उभियो ।’

उनले जाहेरीमार्फत घरमा रहेका आफ्नो करोडौंका सामान चोरी भएको र बेचिविखन गरिएको भन्दै त्यसको क्षतिपूर्ति पनि माग गरेका छन् । ‘यसरी विपक्षीहरुले म तथा मेरो घरपरिवार बाहिर गएको अवस्थामा ताल्चा लगाएको घरमा ताल्चा फुटाई प्रवेश गरी उल्लिखित सामानहरु डाँका गरी लगेको हुँदा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० मा उल्लेखित चोरी डाँका अपराध गरेको हुँदा निज विपक्षीहरुलाई पक्राउ गरी मेरो चोरी डाँका गरी लगेको सरसामान तथा विगो दुई करोड, पाँच लाख ८१ हजार दिलाई प्रचलित कानून बमोजिम हदैसम्मको दण्ड सजाय गरी पाउँ’, उनले जाहेरीमा लेखेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १८:३८   :  बजे

681
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।