Logo

समाचार

विश्वकै पहिलो कोरोना भाइरसको खोप चीनले गर्यो सार्वजनिक



कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गर्दै आएको चीनले खोप सार्वजनिक गरेको छ । चीनले सोमवार राजधानी बेइजिङमा आयोजित व्यापार प्रदर्शनीमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक गरेको हो । प्रदर्शनीमा दुई वटा खोप राखिएको थियो । पहिलो खोपको नाम ’कोरोनावेक’ राखिएको छ । उक्त खोपलाई चीनको कम्पनी सिनोवेक बायोटेकले निर्माण तथा उत्पादन गरेको हो ।

प्रदर्शनीमा उक्त खोपलाई इञ्जेक्सनका रुपमा देखाइएको छ । कम्पनीका प्रवक्ताका अनुसार खोप उत्पादनका लागि फ्याक्ट्री समेत तयार पारिसकिएको छ । उक्त फ्याक्ट्रीमा प्रति वर्ष ३० करोड डोज खोप उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

९० प्रतिशत कर्मचारीलाई खोप

सिनोवेक बायोटेक कम्पनीका प्रमुख कार्यकारी यीनका अनुसार कम्पनीमा कार्यरत ९० प्रतिशत कर्मचारी र उनीहरुका परिवारलाई कोरोना भाइरसविरुद्धको उक्त खोप दिइसकिएको छ । आकस्मिक कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप लगाइएको उनले बताए । पहिलोपटक गत जुलाइमा खोप दिइएको थियो । यद्यपि अझै खोपमाथि विभिन्न परीक्षण जारी नै रहेको छ ।

khop.jpg

दोस्रो खोप सनोफार्मले बनायो

सिनोवेक बायोटेक कम्पनी सँगै चीनकै अर्को फार्मा कम्पनी सिनोफार्मले पनि प्रदर्शनीमा कोरोनाविरुद्धको खोप सार्वजनिक गरेको छ । सिनोफार्माका अध्यक्षका अनुसार खोपको दुई डोजको मूल्य झण्डै २० हजार नेपाली रुपैयाँभन्दा कम पर्नेछ । चीनले तयार पारेको दुवै खोप हाल मानवीय परीक्षणको तेस्रो चरणमा रहेका छन् । चीनीयाँ सञ्चार माध्यमहरुले जनाए अनुसार दुवै खोप यसै वर्षको अन्त्यसम्म बजारमा आइसक्नेछ ।

सिनोवेक बायोटेकका प्रमुख कार्यकारी अधिकृतले खोपको विश्वसनीयतामा कुनै शंका नरहेको बताए । उनले आफैंले पनि यो खोप लगाएको बताउदै खोपको साइड इफेक्ट पनि अत्यन्त कम रहेको दाबी गरेका छन् । तर खोप लगाइसकेपछि थकाइ लाग्ने,हल्का ज्वरो आउने र केही दुखाइ महसुस हुने जस्ता हलुका लक्षण भने देखिएको उनले बताए ।

 

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ९ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।