Logo

राजनीति

राष्ट्रपतिबाट फिर्ता आएकाे नागरिकता विधेयक प्रतिनिधि सभाले बिहीवार नै पारित गर्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बिहीवारको बैठकबाट नै पारित गरिने भएको छ । प्रतिनिधि सभाको बिहिवार ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई ‘पुनर्विचार गरियोस् र पारित गरियोस्भ’ नेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्ु भनी गृहमन्त्रीले पहिलो प्रस्ताव राख्नेछन् । गृहमन्त्री खाणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् । जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ । गठबन्धनले संघीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । गठबन्धनको बहुमत हुने भएकाले गृहमन्त्रीले राखेको प्रस्ताव पारित हुँदा बिहीवारको बैठकबाटै नगारिकता विधेयक पारित हुनेछ ।

प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ । त्यसरी पठाएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।