Logo

अन्तर्वार्ता

मलाई नगरप्रमुखले अधिकार सम्पन्न गराउनुभएको छ : उपप्रमुख बानियाँ



वैशाख ३१ मा सम्पन्न स्थानीय चिर्वाचनबाट चुनिएका जनप्रतिनिधिले अहिले आ–आफ्नो पालिकामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसारका बजेट कार्यान्वयन सुरु गरेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले पनि सामाजिक विकासका योजनाहरुलाई प्रथामिकता दिएर ल्याएको बजेट कार्यान्वयन सुरु गरेको छ । उपमहानगरपालिकामा विपन्नहरुको आयस्तरमा वृद्धि हुनेगरी योजनाहरु तय भएको जनप्रतिनिधिहरुको दाबी छ । यी समग्र विषयमा उपमहानगरका उपप्रमुख राजेश बानियाँसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :

कार्यकालको प्रारम्भमा हुनुहुन्छ । सुरुवातमा हेटौंडा उपमहानगरपालिकाले कस्ता योजनालाई प्रथामिकता दिएर अघि बढेको छ ?
हामी हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएर आएपछि केही समय नीति तथा कार्यक्रम बनाउनमा लगायौं । त्यो नीति तथा कार्यक्रममा हामीले शिक्षा र स्वास्थ्य प्रथामिकमा राखेका छौं । अहिले हामी सबै विषयका समितिहरु बनाएर जनताको समस्या र पालिकाको आवश्यक्तामा आधारित रहेर छलफल मै छौं । हामीले उपमहानगरका गरिब र अल्पसंख्यकहरुलाई दश हजार लिटर पानीको शुल्क नगरपलिकाले निःशुल्क गरेको छ । हामीले बाल तथा प्रसुती अस्पताल बनाउन काम अगाडि बढाउँदै छौं । सिविल इन्जिनियरिङ, कानुन, आइटी लगायतका प्राविधिक शिक्षाहरुको पठनपाठन सुरु गर्दै छौं ।

विद्युतको सवालमा हामीले ३० युनिट बराबरको विद्युत निःशुल्क वितरण गर्दै छौं । यी कामहरु हामी स्रोतको व्यवस्थापन गरेर नै सुरु गरेका हौं । त्यस्तै हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानी भएकोले यहाँको ट्राफिक व्यवस्थापनका लागि हामीले तीन पांगे्र यातायात भएका व्यवसायिक साथीहरुसँग समन्वय गरेर हामीले व्यवस्थापन गर्दै छौं । हामीले धेरैजसो कार्यक्रमहरु गाउँमुखी बनाएका छौं । जसले गाउँका जनताको आयस्तरमा, जीवनशैलीमा सकारात्मक परिवर्तन आउने अपेक्षा हामीले लिएका छौं । अब हामी छिटै प्रत्यक महिनामा गर्ने कामको विवरण बनाएर अगाडि बढ्छौं ।

विपन्न वर्ग लक्षित कस्ता योजना छन् ?
हामीले कृषि, शिक्षा र स्वास्थ्य कै क्षेत्रबाट विपन्नहरुको जीवनमा परिवर्तन ल्याउने हो । यसमा हामीले कृषिको क्षेत्रमा पाडी वितरण गर्ने कार्यक्रम छ । हामीले प्रत्येक वडालाई पकेट क्षेत्रको आधारमा खेती गर्न सुरु गरेका छौं । यहाँ ड्राइगन फुड, मेवा र खरबुजा खेतीहरु युवाहरुले सुरु गरेका छन् । यसमा अझै राम्रो गर्दै जानलाई हामीले बजेट विनियोज गरेका छौं । हामीले प्रत्येक वडामा कृषि प्राविधिकको वयवस्था मिलाएका छौं । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि हामीले निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने व्यवस्था गर्दै छौं । त्यसैगरी खेलकुदको सवालमा हामीले रंगशाला निर्माण गर्ने, खेल मैदानहरुको व्यवस्थापन गर्ने, खेल सामाग्रीको व्यवस्था गर्ने तयारी गरेका छौं ।

हेटौंडा बजारको पूर्व—पश्चिम राजमार्गलाई फराकिलो बनाउने विषयमा उपमहानगरको योजना के छ ?
सरकार जनताको हो । त्यसैले जनताको मर्म र भावना अनुसार काम गर्नु पर्छ । सर्वोच्चको निर्णय अनुसार राजमार्गलाई साढे २२ मिटर दायाँ र बाँया चौडा बनाउनु पर्छ । त्यसो गर्दा यहाँका केही मान्छे सुकुमवासी नै हुने अवस्था छ । त्यसो हुनाले हामी सबैसँग छलफल गरेर जग्गा मिचिनेहरुलाई पनि न्याय हुने गरी अगाडि बढ्दै छौं ।

हेटौंडामा बाढी पहिरोले कस्तो असर पारेका छ ? सम्भावित जोखिम कतिको छ ?
प्राकृतिक विपत्तिको जोखिम त सबै ठाउँमा सधैँ हुन्छ । हेटौंडामा बाढी पहिरोकै कारण ठूलै घटना हालसम्म घटेको छैन । हामीले बर्खा सुरु हुने बेलामा नै जोखिमका सम्भावित ठाउँहरुमा स्थलगत अनुगमन गरेर नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका संघ संस्थाहरुसँग समन्वय गरेर पूर्व तयारीहरु गरेका छौं । यदि विपद् आइहाल्यो भने व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरु तयार गरेका छौं । आजसम्मको अवस्था सामान्य नै छ ।

उपप्रमखलाई अधिकार कम भयो भन्ने आवाजहरु आइरहन्छन् । तपाईँलाई कस्तो महसुस भएको छ ?
मलाई नगरप्रमुख मिनाकुमारी लामाले अधिकार सम्पन्न गराउनुभएको छ । उहाँ पहिलो कार्यकालमा उपमेयर हुनुहुन्थ्यो । उहाँले उपप्रमुखलाई अधिकार कति चाहिन्छ र कसरी काम गर्नु पर्छ भन्ने अनुभव लिइसक्नुभएको छ । नगरको सफलताका लागि उहाँले मलाई धेरै जिम्मेवारीहरु दिनुभएको छ । उहाँले हाम्रो टिम बलियो हुँदा मात्रै हामी सफल हुने हो भनेर भनिरहनुभएको छ ।

हेटौंडाको विकासमा खासगरी कस्ता चुनौतीहरु छन् ?
धेरै जटिल चुनौती र समस्याहरु छैनन् । विकास निरन्तर हुने प्रक्रिया हो । जनताको अधिकांश समस्याहरु वडाबाट नै हल हुन्छ । नगरले राम्रो भिजनवाला नीति तथा कार्यक्रम ल्याउने हो । हामीले अधिकृत, इन्जिनियर र लेखालाई वडामै पठाएर जनताको मेजर आवश्यक्ता वडाले पुरा गर्नु पर्ने भएकोले वडाहरुलाई धेरै अधिकार दिएका छौं । हामीले ऐन र नीति बनाउने हो, राम्रो योजनाहरु बसै ठाउँमा पु¥याउने हो । जनतालाई सुविधा समपन्न बनाउने र समृद्धि ल्याउने तर्फ नै हाम्रो ध्यान छ ।

हेटौंडामा नीति तथा कार्यक्रम ल्याउने बेलामा पनि निकै विवाद भएको थियो । स्थानीय तहमै सत्ता पक्ष र प्रतिपक्ष देखियो । सबैलाई समेटेर अगाडि बढ्न कति सहज छ ?
त्यस्तो सुरुवाती चरणमा भएकै हो । त्यतिबेला साथीहरुले हाम्रो पार्टीको बहुमत छ । हामीले भनेका कुरा हुनपर्छ भन्ने जस्ता कुराहरु गरे । प्रमुख र उपप्रमुख हाम्रो पार्टीको छैन । पक्षपातपूर्ण काम हुन्छ होला भन्ने उहाँहरुको आशंका थियो । त्यो आशंकालाई हामीले चिर्न सफल भएका छौं । हाम्रो उद्देश्य राम्रो रहेछ भन्ने महसुस भएपछि उहाँहरुले हामीलाई धेरै सहयोग गर्नुभएको छ । अहिले नेपालभरी मै सबै भन्दा राम्रोसँग हाम्रो कार्यपालिका बैठक चलेको छ । हामीले आ—आफ्नो कानुनी क्षेत्राधिकार भित्र रहेर काम गर्दा यस्तो विवाद हुँदैन । अबका दिनमा हाम्रो एजेण्डा र लक्ष्य एकै भएपछि यस्ता विवादहरु आउँदैनन् ।

प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर जाने योजना कस्तो छ ?
हेटौंडाका लागि गर्वको कुरा हो, हामीलाई प्रदेश सरकारका मन्त्री, सांसद र अन्य युनिटहरुसँग गएर आफ्नो कुरा राख्न सहज छ । हामीले छलफलहरु गरिरहेकै छौं । आगामी दिनमा पनि प्रदेश सरकारसँग हामी सहमति, सहकार्य र समन्वयलाई अझै गाडा बनाएर लैजाने छौं । त्यसैगरी हामीले केन्द्र सरकारबाट बहुवर्षीय योजनाहरु ल्याउन प्रयास गरिरहेका छौं । आफ्ना कुराहरु राखिरहेका छौं ।

त्यसो हुनाले समन्वय गरेर जाँदा सबै कुरा सफल हुन्छ भन्ने पक्षमा हामी छौं । हामीले केन्द्र र प्रदेश दुबैलाई हेटौंडामा यी यस्ता योजनाहरुको आवश्यक छ भनेर स्पष्ट भनेका छौं । आज तपाईँले यो प्रश्न सोध्दै गर्दा हाम्रो हेटौंडा उपमहानगरपालिका प्रमुख काठमाडौं जानुभएको छ । हेटौंडामा केन्द्र सरकारको योजनाहरु ल्याउनको लागि नै उहाँ जानुभएको हो । हामीले राखेका मागहरु सम्बोधन हुन्छ भनेर हामीलाई आशा छ । हामीलाई केन्द्र र प्रदेश दुवैले हालसम्म राम्रो साथ दिनुभएको छ ।

अन्त्यमा अरु केही भन्नु छ ?
केही पालिकाहरुले नगरसभा, गाउँसभालाई प्रत्यक्ष प्रशारण गरेका छन् । हामी त्यसो गर्दैनौं । हामीले गरेका निर्णयहरु हामी तपाईँहरुको जस्तो सञ्चार माध्यम मार्फत जनतालाई जानकारी गराउँछौं । त्यसो हुनाले नगरवासीलाई कसरी सु—सम्पन्न गरेर समृद्धितर्फ जाने भन्ने हाम्रो एजेण्डा हो । यी कामहरु गर्न सबैले आ—आफ्नो स्थानबाट सहयोग गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ६ : ४४ बजे