Logo

प्रवास

हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार



 सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा बढी २९ हजार ४३२ जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी९रियाद जेद्दा० बाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् ।

हाल सम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६ रहेका छन् । र, सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।
अफ्रिकी मुलुक सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

कुन प्रदेशमा कति उद्वार ?
स्वदेश उद्वार गरिएका सबैभन्दा बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशबाट १८ हजार ७२३ जनाको उद्वार गरिएको छ ।दोस्रोमा प्रदेश नम्बर १ बाट १५ हजार ५३२ जनाको उद्वार गरिएमा तेस्रोमा प्रदेश नम्बर २ बाट १३ हजार १४६ जनाको उद्वार गरिएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम स्वदेश फर्किएको पाइएको छ । कर्णालीबाट १६ सय १ जनाको उद्वार गरिएको सिसिएमसिले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट १२ हजार ५०६ र सूदुरपश्चिम प्रदेशबाट १८ सय ३० जना स्वदेश फर्किएका छन् । यसको साथै प्रदेशगत विवरण प्राप्त नभएको संख्या २९ हजार ३९७ रहेको सिसिएमसिले बताएको छ ।

हाल क्वारेन्टाइनमा कति ?
विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारेन्टाइनमा बस्नेक्रम जारी छ । होटल क्वारेनटाईनमा १२ हजार १०३ जना बसेका छन् । होम क्वारेनटाइनमा ७ हजार ६७८ जना र लोकल क्वारेनटाइनमा ४ हजार ८६५ जना रहेको सिसिएमसिले जनाएको छ । अस्पतालमा ६७ जना र अन्य ठाउमा ७८० जना रहेको बताइएको छ । यो समाचार आजको गोखापत्र दैनिकमा छ ।

 

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ८ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।