Logo

समाचार

पाटन क्षेत्रका पशुचौपाय धमाधम बिरामी हुन थालेपछि चिकित्सक टाेली परिचालन



सुर्खेत । चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपायहरू धमाधम बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ । पशुपालन पेशालाई मुख्य बनाएर दैनिक घर व्यवहार चलाउँदै आएका बारेकोट गाउँपालिकाका स्थानीयवासीका पशु चौपायहरू बिरामी भएपछि समस्या उत्पन्न भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो ।

किसानहरूले पालन गरेका पशुचौपायको क्षति नहोस् भनि खबर पाएलगत्तै पशु चिकित्सक परिचालन गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । पालिकाको वडा ४ मा रहेका पशुचौपाय बिरामी भएका हुन् । बर्षायाममा स्थानीय घास पालन गरी हिउदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षायाममा बारेकोट गाउँपालिकाका पशुचौपाय पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको छ । मुख सुनिने, घास नखाने, ढारिने लगाएका समस्य पशुचौपायमा देखिएको बारेकोट-५ पाखाका प्रेम शाहीले जानकारी दिए ।

पाटनमा गाई, गोरु, घोडा , बाख्रा, भेडा र भैँसी पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको उनले बताए । हिउँद याममा भारी हिउँ हुने तर वर्षायाममा पाटन क्षेत्रमा हिउँ नहुने भएकाले प्रयाप्त घास हुने गर्दछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १२:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।