Logo

अन्तर्वार्ता

संघ अन्तर्गत जिल्लामा रहेका निकाय पालिकाहरुका लागि बाधक : नगर प्रमुख मादेन



गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमार्फत जनताको घरदैलोको सरकार स्थानीय तहले प्रतिनिधि पाए । सोही क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाले पनि अमिर मादेनलाई प्रमुखका रुपमा पायो । फुङलिङले मादेनकै नेतृत्वमा अहिले चालु आर्थिक वर्षको कार्यक्रमहरु सुरु गरेको छ । यी समग्र कार्यक्रम तथा योजनाका बारेमा नगर प्रमुख मादेनसँग अनलाइनपानका लागि रामनाथ कुँवरले गरेको कुराकानी :

कार्यकालको प्रारम्भमा हुनुहुन्छ । फुङलिङ नगरपालिकामा तपाईं निर्वाचत भएर आएपछि के कस्ता काम सुरुवात गर्नुभयो ?
फुङलिङ नगरपालिकामा हामी निर्वाचित भएर काम सुरु गरेको तीन महिना भयो । मैले निर्वाचनमा होमिँदै गर्दा नगरवासीलाई जुन प्रतिबद्धता जाहेर गरेको थिएँ, त्यो पूरा गर्न पाँच वर्ष नै लाग्छ । नगरवासीको चाहाना र आवश्यक्तालाई मैले सम्बोधन गर्नु पर्छ । हामीले शिक्षालाई गुणस्तरीय बनाउनका लागि अध्ययन गरेर नीति बनाएर कार्यान्वयन गर्ने चरणमा छौं । त्यसैगरी स्वास्थ्यलाई पनि प्राथामिकतामा राखेर काम सुरु गरेका छौं । नगरका सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने गरी हामीले काम अगाडि बढाएका छौं ।

त्यसैगरी हामीले कृषि क्षेत्रलाई पनि महत्व दिएर योजनाहरु बनाएका छौं । नगरपालिकाको सबै वडाहरुमा प्राविधिकको सल्लाह अनुसार माटो र हावापानीको अध्ययन गरेर पकेट क्षेत्र निर्धारण गर्ने योजना छ । हामीले करडौंको तरकारी बाहिरबाट ल्याएर खानु पर्छ । अब हामी पहिला आफ्नो नगरलाई तरकारीमा आत्मनिर्भर बनाउछौं र त्यसपछि निर्यात पनि गर्ने गरी काम अगाडि बढाउछौं । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्ने गरी हामी व्यवसायिक कृषि तर्फ अगाडि बढ्ने छौं । हामीले निर्वाचित भएर आउँदा नै कार्यविधि बनाएर जाने भन्यौं । अघिल्लो कार्यकालमा बनेका बाटोहरुलाई स्तरउन्नती गर्ने पनि हाम्रो योजना छ ।

फुङलिङ नगरपालिकालाई रहेक हिसाबले समृद्ध बनाउने तपाईंका योजना चाहिँ कस्ता छन् ?
हामी नगरपालिकाको शिक्षा र स्वास्थ्यको अवस्थालाई क्रमशः सुधार गर्दै लैजाने छौं । हामीले पहिलो वर्षमै नगरवासीका सबै मागलाई समेट्न सक्दैनौं । विकास र परिवर्तन निरन्तर चलिरहने प्रक्रिया हो । अघिल्लो कार्यकालमा पनि यहाँका पूर्वाधारका क्षेत्रमा केही कामहरु भएका छन् । पहिलेबाट हुँदै आएका कामहरुलाई हामी पूरा गर्न लागेका पनि छौं । हामीले सही तरिकाले नीति नियम भित्र रहेर काम गर्ने हो भने नगरको अवस्था र जनताको जीवस्तर बदल्न सकिन्छ भन्ने सोचमा हामी अगाडि बढिरहेका छौं ।

नगरवासीले मलाई जिम्मेवार स्थानमा पुर्‍याउनुभएकोले यहाँको विकास कसरी गर्ने भनेर मलाई चिन्ता छ । हामी नगरको विकास गर्न कोशिस गरिरहेका छौं । कोशिस जारी राख्ने छौं । जनताको माग र आवश्यक्तालाई पूरा गर्न हामी अहोरात्र लागि परिरहेका छौं । जनताको मतको कदर गर्दै हामी आफ्नो जिम्मेवारीमा लागिरहने छौं । खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि जस्ता सबै क्षेत्रलाई हामी पाँच वर्षमा हामी सम्बोधन हुने गरि काम गर्ने छौं ।

फुङलिङ पर्यटकीय प्रचुर पर्यटकीय सम्भावना बोकेको पालिका पनि हो । यसको प्रवध्दनका लागि कस्ता योजना छन् ?
हो, हाम्रो जिल्ला नै हिमाली पर्यटकिय जिल्ला हो । पर्यटनलाई पनि हामीले शिक्षा, स्वास्थ्य, कृषि, सडकसँगै समान रुपले विकास गरेर लैजाने योजना बनाएका छौं । कञ्चनजंगा हिमालको फेदीमा र पाथिभारा मन्दिरको काँखमा हाम्रो पालिका छ । हामीले आन्तरिक र विदेशी पर्यटकहरु धेरै मात्रामा भित्र्याउने योजना बनाएका छौं । हामीले यहाँका ताल—तलैया, मठ—मन्दिर र बाटोहरुको पूर्वाधार राम्रो बनाउन पहल गरिरहेका छौं । यसमा केन्द्र र प्रदेश सरकारले साथ दिने छ भन्ने अपेक्षा छ ।

हामी नगरलाई समृद्ध र सुन्दर बनाउन लागि परेका छौं । पाथिभारामा वर्षमा धेरै धार्मिक पर्यटकहरु आउनुहुन्छ । कञ्चनजंघामा पनि धेरै पर्यटकहरु आउनुहुन्छ । हाम्रो जिल्लाले असोजमा पाथिभारा महोत्सव गर्दै छ । असोजको ११, १२ र १३ गते त्यो महोत्सव मनाउँदै छ । तपाईँको लोकप्रिय अनलाइन मार्फत म देश तथा विदेशमा रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीमा अग्रिम चुलेनिम्तो दिन चाहान्छु । महोत्सवमा म्याराथुन दौड, विभिन्न सांस्कृतिक कार्यक्रमहरु र विभिन्न खेलकुदहरु, प्याराग्लाइडिङ हुन्छन् । हिमालको काँखमा रहेको हरियारी डाँडामा भएको यस्तो महोत्सव सबैले हेर्न आउनुहुन्छ भन्ने आशा हामीले लिएका छौं ।

पालिकामा काम गर्न खास चुनौतीहरु के—के रहेछन् ? सुरुवाती चरणको अनुभव कस्तो छ ?
हामी जस्तो आन्तरिक आयस्रोत कम्जोर भएका पालिकाहरुलाई बजेट नपुग्नु नै प्रमुख समस्या हो । केन्द्र र प्रदेशले दिएको बजेटबाट सबै कामहरु गर्न नसकिने रहेछ । त्यसैगरी स्थानीय तहले २० वर्षसम्म जनप्रतिनिधि नपाएकोले पनि यहाँ धेरै समस्याहरु थिए । त्यो अवधिमा पालिकाको विकास कनिका छरेको जस्तो भएको थियो । जनताले हरेक समस्याहरु लिएर पालिकामा आउनुहुन्छ तर हामीले सबै मागहरु सम्बोधन गर्न सक्दैनौं । बजेटले पुग्दैन ।

भौगोलिक रुपमा विकट क्षेत्र भएकोले यहाँको पर्यटन विकास, धार्मिक क्षेत्रको संरक्षण र वयवस्थापन गर्न सानो आकारको थोरै बजेटले पुग्दैन । बजेट धेरै नै आवश्यक पर्छ । केन्द्रले एकद्धार प्रणालीबाट बजेट पठाएमा काम राम्रो हुने थियो । तर थुप्रै निकायहरुबाट बजेट आउने हुँदा काम राम्रो हुँदैन । कतिपय योजनाहरु कुन निकायबाट आएको भनेर नगरपालिकालाई नै थाहा हुँदैन । बजेट अनुसारको काम भयो या भएन भनेर स्थानीय तहलाई अनुगमनको जिम्मा दिएको भए हुन्थ्यो । केन्द्र सरकारको जिल्ला अन्तरगतका निकायहरुको कारणले पालिकाहरुलाई काम गर्न असजिलो भइरहेको छ ।

हाम्रो नगरपालिकामा बसपार्क बन्दै छ । अघिल्लो आर्थिक वर्षमा बजेट आएको थियो तर त्यसमा यो वर्ष बजेट केन्द्रले पठाएन । अब बसपार्क कहिले पुरा गर्ने ? यसरी केन्द्र र प्रदेशले कुनै वर्ष बजेट पठाउने, कुनै वर्ष नपठाउने गर्दा पनि पालिकालाई काम गर्न असहज भएको छ । निर्वाचित भएर आएपछि केही समय कुन—कुन निकायबाट योजनाहरु आउँछ भनेर बुझ्न नै समय लाग्यो । त्यसो हुनाले केन्द्र र प्रदेश सरकारले आफै गर्ने आयोजनाहरुको अनुगमनको जिम्मा स्थानीय तहलाई दिनु पर्छ । योजना अनुसार काम भयो या भएन, कति जनता लाभान्वित भए यो सबै कुरा प्रष्ट हुनु पर्छ । कतिपय योजनाहरु ठेक्का लिएर १२/१५ वर्षसम्म नबनेको हामीले देखेका छौं । यस्तो गतिविधि हुन हुँदैन ।

कर्मचारी व्यवस्थापनको अवस्था चाहिँ कस्तो छ ? पालिकालाई आवश्यक कर्मचारी छन् ?
हामीसँग कर्मचारी पर्याप्त छैनन् । करारमा कर्मचारी राख्नु पर्ने हुन्छ । धेरै कर्मचारी करारमा राख्दा तलब दिन सकिँदैन । इन्जिनियर, प्राविधिक लगायतका कर्मचारी सातौं, आठौं तहको सबै खालि छ । हामीले माग गरिरहेका छौं । तर कोही आउदैन । सरकारले खटाउन सक्दैन । त्यस्तो अवस्थामा पालिका छ । चौथो र पाँचौं तहका कर्मचारीहरुले आज नगर चलाइरहेको छ । नगरपालिकालाई आवश्यक कर्मचारी पठाउन नसक्नु सरकारको कम्जोरी हो ।

अहिले बर्खाको समय छ । पालिकामा बाढी—पहिरो जोखिम कस्तो छ ?
वर्षाका कारण धेरै ठाउँमा ठूला—ठूला समस्याहरु आए । कतिपय ठाउँमा मानवीय क्षति पनि भएको छ । हाम्रो पालिकामा पनि बाटो अवरुद्ध हुने, केही ठाउँमा पहिरो जाने जस्ता समस्या भयो । पछिल्लो समय जतापनि बाटो खन्ने, कुनै अनुमान नगरी डोजर चलाउने गर्दा पनि पहिरोको जाखिम बढ्यो । अब यस्ता कुरामा हामी विषेश अध्ययन गरेर अगाडि बढ्ने योजनामा छौं । विपद् व्यवस्थापन समिति मार्फत हामीले बाढी—पहिरोको समस्या समाधान गरिरहेका छौं । हाम्रो पालिकाको वडा नम्बर ८, ९ र ११ मा अलि धेरै पहिरो जान्छ र त्यहाँ जोखिम पनि छ । हामीले यसमा सधैँ अनगमन र रिपोटिङ गरिरहेका छौं ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १८:३४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।