Logo

अन्तर्वार्ता

जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ : नगर प्रमुख खाँण



संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारमध्ये स्थानीय तह जनताको घर दैलोको सरकार हो । सामान्यतयाः जनताले भोगिरहने समस्या समाधानमा स्थानीय तह बढी जिम्मेवार हुन्छ । राज्य पुर्नसंरचनापछि बनेका पालिकाहरुले लय समातेर काम गरिरहेका छन् । चालु वर्षको दोस्रो महिना चलिरहँदा कतिपय पालिकाले नीति तथा कार्यक्रमसँगै बजेट ल्याएर कार्यान्वयन थालिसकेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाले पनि चालु आर्थिक वर्षको कार्यक्रम विधिवत रुपमा सुरु गरिसकेको छ । यी लगायत नगरपालिकाको समग्र विषयमा वस्तुमा केन्द्रित रहेर नगरप्रमुख कृष्ण खाणसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

नगर प्रमुखमा तपाईं निर्वाचित भएर आइसकेपछि वालिङको गतिविधि कसरी अगाडि बढ्दै छ, सारंशमा भन्दिनुस् न ?
हामी नगरपालिकामा आएपछि यहाँको समग्र स्थिति बुझेर हामीले काम अगाडि बढाएका छौं । असार मसान्तसम्म हामीले अघिल्लो कार्यकालको सिलसिलामै काम गरियो । अहिले हामीले नयाँ नीति तथा कार्यक्रम अनुसार नगरपालिकाको गतिविधिहरु अगाडि बढाएका छौं । हामी कर्मचारीको सुशासनको विषयमा गम्भीर भएका छौं । सेवा सुविधाहरु कसरी जनतालाई प्रदान भएको छ ? नगरपालिकाको काममा जनता खुशी छन् या छैनन् भनेर हामीले अध्ययन गरेर सुधार्दै आगाडि बढेका छौं ।

अघिल्लो कार्यकालमा यहाँ १३ किलोमिटर बाटो विस्तार गर्ने काम सुरु भएको थियो । तर त्यो बाटो भत्काइयो पिच भने भएन । त्यसो हुनाले बर्खामा हिलो र हिउँदोमा धुलो हुने भएकोले हामीले पहिलो प्राथामिकतामा राखेका छौं । त्यसमा नाला, कलबर्ड बनाएर पिच गर्ने काम अगाडि बढाएका छौं । त्यसैगरी बजार क्षेत्रमा ढल व्यवस्थापन गर्न हामीले योजना बनाएका छौं । बजार क्षेत्रमा भद्रगोल तरिकाले रहेको विजुली र अन्य तारहरुको व्यवस्थापन गर्न हामीले योजना बनाएका छौं ।

त्यसैगरी नगरपालिकामा सर्वसुलभ र प्रविधियुक्त शिक्षा प्रदान गर्नेतर्फ हाम्रो ध्यान गएको छ । स्वास्थ्यमा हाम्रो १५ शैय्याको नगर अस्पताल छ । तर त्यसले अझै पुगेको छैन । सबै जनतालाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने हाम्रो योजना छ । हाम्रो नगरपालिकामा बजार र गाउँ दुई किसिमको विस्त छ । गाउँमा बाटाहरु धेरै खनिएका छन् । तर ती बाटोहरु स्तरोन्नती र व्यवस्थापन हुन नसक्दा धेरै दुर्घटनाहरु भइरहेका छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनको दिन हाम्रो नगरपालिकाको एकै ठाउँको १४ जनाको बाटो व्यस्थित नभएकै कारणले ज्यान गयो । यस्तो घटना यहाँ बेला—बेलामा भइरहेको छ । हामीले कम्तिमा नगरपालिकाबाट वडा जोड्ने बाटो पिच गर्ने र अन्य बाटोहरुमा नाला र ग्रभेल गर्ने भनेर काम अगाडि बढाएका छौं । यसैगरी अहिलेको समाज प्रविधिमा चल्ने भएको छ । त्यसलाई ध्यानमा राखेर हामीले केही कामहरु गरेका छौं । त्यसमा जनताले कसरी उपयोग गर्ने भन्ने कुरा हो । हामी यीनै विषयहरुमा केन्द्रित भएर काम अगाडि बढाएका छौं ।

विशेष गरी कृषि क्षेत्र केन्द्रित कस्ता योजनाहरु ल्याउनु भएको छ ?
हामीले नगरपालिकामा कृषि क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर विभिन्न योजनाहरु तयार गरेका छौं । कृषकहरुलाई औजार र आधुनिक उपकरणहरु वितरण गर्ने र राम्रो उत्पादन गर्ने किसानलाई सम्मान र पुरस्कृत गर्ने पनि हामीले योजनामा राखेका छौं । हामी यहाँका धेरै किसानहरुलाई व्यवसायिक रुपमा अगाडि लैजाने गरी योजना बनाएका छौं । पशुपालन र तरकारी खेतीहरुमा हामी पकेट निर्धारण गरेर काम अगाडि बढाउँदै छौं । विभिन्न अनुदानका कार्यक्रमहरु पनि हामीले यो आर्थिक वर्षमै समेटेका छौं । हामीले धेरै कामको थालानी गरेका छौं । यसको प्रतिफल आउन भने केही समय लाग्छ ।

वालिङ नगरपालिकाले यर्यटनलाई प्रवर्ध्दन गर्न चाहिँ के—कस्तो योजना बनाएको छ ?
यहाँ वाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक बढी आउने गर्नुहुन्छ । पर्यटकहरु यहाँ आउने र बस्ने वातावरण बनाउनका लागि हामीले यो बजारलाई हेल्दी सिटी बनाउने हाम्रो योजना छ । जनतालाई आयस्रोतसँग जोड्न यस्ता पक्षहरुलाई हामीले ध्यान दिएका छौं । वालिङ नगरपालिका स्याङजा जिल्लाकै मध्येभागमा अवस्थित छ । यस नगरपालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारामा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो । त्यसैले गर्दा यस नगरपालिकाले विविध सम्भावनाहरु बोकेको छ ।

यहाँ धेरै मठ—मन्दिरहरु भएकोले धार्मिक पर्यटनको सम्भावना पनि छ । अक्कला देवी, गरौंसत देवी जस्ता देवीका मन्दिरहरु छन् । हामी यस्ता धार्मिक क्षेत्रको व्यवस्थापनमा लागेका छौं । त्यसैगरी यहाँ रमाइला ठाउँहरु थामडाँडो, बाउनथान, प्याराग्लाडिङको सम्भावना बोकेको मनसनकोट छ । यी सबैलाई व्यस्थित तरिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हाम्रो योजना छ । त्यसैगरी आँधिखोलामा हामीले चेक ड्याम बनाएर जल विहार बनाउने, रिसोर्टहरु खोल्ने, खेल मैदानहरु बनाउने काम पनि अगाडि सारेका छौं । अन्य कुराहरुमा पनि हामीले पर्यटकहरुलाई आउन मन लाग्ने बनाउन कोसिस गरिरहेका छौं ।

देशका १२ स्मार्ट सिटीमध्ये वालिङ पनि एक हो । काठाडौंका लागि चुनौती बन्ने गरेको फोहोरलाई यहाँ कसरी व्यवस्थापन गर्ने गरिएको छ ? अनि पुर्वाधारका अवस्थाहरु के छन् ?
वालिङले फोहोर मैला व्यवस्थापनको क्षेत्रमा केही नयाँ काम गरेको छ । यसमा जनताले हामीलाई राम्रो साथ दिनुभएको छ । जनताले कुहिने÷नकुहिने फोहोर छुट्याएर राख्नुहुन्छ । नकुहिनेमा पनि सिसाजन्य र पलास्टिकजन्य छुट्याएर राख्ने गरिएको छ । नगरपालिकाको गाडीले पालैपालो फोहोर उठाउने गर्छ । त्यो फोहोरलाई पनि हामीले कुहिनेलाई कम्पोस्ट मल बनाएका छौं । नकुहिने सिसाहरुलाई हामीले विकृवितरण गरिरहेका छौं । हामीले त्यो ठाउँको नाम नै सरसफाइ केन्द्र भनेर राखेका छौं । सरसफाइको विषयमा यहाँका जनताहरु पनि सचेत छन् ।

यसरी हामीले नगरपालिकामा आधारहरु तयार गरेका छौं । नगरपालिकालाई स्मार्ट सिटी भनेर नामकरण त गरियो । तर त्यो अनुसार काम नै भएको छैन । हामीलाई स्मार्ट सिटी भनेर बढी बजेट पनि छुट्याइएको छेन । पूर्ण रुपमा स्मार्ट सिटी हुनका लागि हामीले २० वर्ष लाग्छ भनेका छौं । यसलाई स्मार्ट सिटी घोषणा गरियो । अब त्यस खालको पूर्वाधार निर्माणमा हामी लाग्ने छौं ।

वालिङको विकास गर्ने क्रममा आइपर्ने प्रमुख समस्या के—के रहेछन् ?
यसमा पहिलो भनेको साधन र स्रोतकै अभाव हो । त्यसले धेरै कुरामा प्रभाव पार्छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुलाई चुस्त दुरुस्त कसरी पार्ने भन्ने कुरा पनि समस्या कै रुपमा छ । हाम्रो आन्तरिक स्रोत कम्जोर छ । वर्षमा २१÷२२ करोडले नगरपालिका चलाउनु पर्छ । पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रमा धेरै विकास भएको छ । यसको पहुँचमा जनतालाई पु¥याउन पनि चुनौतीकै रुपमा देखिएको छ । तर पनि जनप्रतिनिधिसँग विकास गर्ने इच्छाशक्ति हुनु पर्छ । समस्याहरु समाधान गर्न सकिन्छ । जनप्रतिनिधिले जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्नु पर्छ ।

हामी राजधानीबाट टाढा छौं । संघीयता ल्याउँदा सिंहदरबार गाउँगाउँमा पु¥याउने भनियो । तर अहिले पनि संघ र प्रदेशको मन्त्रालयहरु नधाएसम्म पालिकाको विकास गर्न सम्भव छैन । त्यो पालिकाहरुको लागि मुख्य समस्या हो । पहिला जनश्रमदान धेरै हुन्थ्यो । पछिल्लो समय त्यो हटेको छ । यस्ता समस्यहरु हाम्रो पालिकामा छ ।

वालिङमा बाढी—पहिरोले कति दुःख दिएको छ ? सम्भावित जोखिम कस्ता छन् ?
हाम्रो नगरपालिकामा आँधिखोलाको साथै अर्मली खोला, च्याली खोला, मिर्मी खोलाहरु छन् । आँधिखोलाको दायाँ—बायाँ तटबन्धन नहुँदा यहाँ वर्षेनी किनाराका खेतीयोग्य जमिनहरु कटान भइरहेको छ । अरु ठाडो खोलाहरुले पनि केही क्षति गरेको छ । नगरपालिकामा केही स्थानमा पहिरो पनि गएको छ । विगतमा बाटो बनाउने भनेर डोजर धेरै चलाएकोले पनि जमिन कम्जोर भएर पहिरो गएको छ । तर पनि विगतमा जसरी क्षति यस वर्ष हालसम्म भएको छैन । यो वर्ष हामीले कसैलाई पनि स्थानान्तरण गर्नु परेको छैन । तर विगतमा विस्थापित भएकाहरुलाई पनि हामीले व्यवस्थापन गर्न सकेका छैनौं । गर्ने क्रममा छौं ।

संघ र प्रदेसँग कसरी समन्वय भइरहेको छ ? प्रदेश सरकारको महत्व कति देख्नुहुन्छ यहाँले ?
हामी वालिङ नगरपालिकाको विकासका लागि संघ र प्रदेशसँग एकदमै सहकार्य गरेर अगाडि बढ्न चाहान्छौं । स्थानीय तह, प्रदेश र संघ कसैले पनि जनप्रतिनिधि भएपछि राजनीतिक पूर्वाग्रह नलिइकन विकास गर्न पर्छ । हामी त्यो मान्यता राख्छौं । त्यसकारण हामी सबैसँग यहाँको विकासको लागि छलफल र सहकार्य गर्ने छौं । यहाँको समस्या हामी माथिका कर्मचारी, माननीय र मन्त्रीहरुमा हामी राख्ने छौं । हामीले संघीयताका अभ्यास गर्दै गर्दा हामीलाई संघ र स्थानीय तह मात्रै हुँदा पनि हुँदो रहेछ भन्ने लागेको छ । यसो भन्दै गर्दा संघीयता विरोधी भन्ने आरोप लाग्छ तर यथार्थ यही हो । यदि कोरोना महामारी नियन्त्रण गर्दा स्थानीय तह नभएको भए अझै भयावह स्थिति आउँथ्यो । त्यसो हुनाले स्थानीय तहलाई अझै बलियो बनाउन आवश्यक छ । यसो गर्दा देश समृद्ध हुन्छ ।

वालिङ नगरपालिकामा अनियमितता हुन नदिन तपाईँ के गर्नुहुन्छ ?
हामी जनप्रतिनिधि आफू स्वयम् भ्रष्टचार गर्दिन भन्ने कुरामा स्पष्ट हुनु पर्छ । त्यसैगरी हामीले नीति, नियम र प्रक्रियामा टेकेर काम गर्नुपर्छ । त्यस्तै अनुगमनलाई पनि प्रभावकारी बनाउन पर्छ । यदि आर्थिक लेनदेन जस्ता कुराहरुमा जनप्रतिनिधि आफै संलग्न भयो भने त्यो जनप्रतिनिधिले कर्मचारीलाई नियन्त्रण गर्न नै सक्दैन । पहिलो कुरा जनप्रतिनिधिलाई मैले भ्रष्टचार गर्नु हुँदैन । भ्रष्टार गर्नु भनेको सामाजिक अपराध हो । राज्यप्रतिको अपराध हो भन्ने बुझन पर्छ । त्यसो गर्दा भ्रष्टचार कम हुन्छ भन्ने मलाई लाग्छ ।

जनप्रतिनिधिहरुले जनताको समस्यालाई महत्व नदिएर आफ्नै हिसाबले काम गर्ने गरेको गुनासो सुनिन्छ । यसमा के भन्नुहुन्छ ?
यो सत्य हो । सबै त म भन्दिन तर केही जनप्रतिनिधिहरु जनताले जिताएर पठाएपछि आफू सेवक होइन शासक हो भन्ने ठान्छन् । आफूलाई जनताभन्दा ठूलो देख्ने जस्तो गतिविधिहरु गर्छन् । जनताले आफ्नो अधिकार प्रयोग गरेर विभिन्न चिह्नमा भोट गर्नुहुन्छ । तर जनप्रतिनिधिले त्यो कुरा विर्सनु पर्छ । जनप्रतिनिधि भइसकेपछि राजनीतिक पूर्वाग्रह बोकेर काम गर्नेले आफ्नो धर्म र कर्तव्य पुरा गर्दैन ।

मैले वालिङ नगरपालिकाका सबै जनप्रतिनिधिलाई साझा भएर काम गर्न आग्रह गरेको छु । हामीले समान हिसाबले न्यायोचित ढंगबाट विकास गर्नपर्छ । जनप्रतिनिधिले हामी शासक होइन, सेवक हो भन्ने कुरा मुखमा मात्रै होइन व्यवहारमा देखाउनु प¥यो । यो कुरा संघ, प्रदेश र स्थानीय तह तीनैवटामा लागु हुनु पर्छ । तर पनि स्थानीय तह भनेको जनतासँग दिनप्रतिदिन प्रत्यक्ष जोडिने भएकोले स्थानीय तहका जनप्रतिनिधि अझै यसमा गम्भीर हुनु पर्छ ।

यो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरुले पनि धेरै ठाउँमा जितेका छन् । त्यस्तै दोहारिन उम्मेदवारी दिएकाहरुले अधिकांशमा हारेको स्थिति छ । यसको अर्थ भनेको राम्रो काम नगरेर हो । स्वतन्त्रले जित्नु भनेको राजनीतिक दलहरु प्रतिको वितृष्णा हो । जनप्रतिनिधिहरु जनताप्रति जति उत्तरदायी हुन पर्ने हो त्यति उत्तरदायी भएनाैं कि भन्ने हो । यसमा राजनीतिक दलहरुले सोच्नु पर्छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा अरु केही भन्न चाहानुहुन्छ ?
हामी वालिङ नगरपालिकालाई साँच्चिकै स्मार्ट सिटी बनाउने अभियानमा छौं । यस अभियानमा सबैले साथ दिनुहुन्छ भन्ने विस्वास लिएका छौं ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १७:३१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।