नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेट संसोधन गर्ने कुरा गरेका कारण मौद्रिक नीति आउन ढिलाई भएको बताएका छन् । उनले सरकार परिवर्तन भएपछि अध्यादेशमार्फत् आएको बजेटलाई संशोधन गर्ने भनिएका कारण मौद्रिक नीति पर धकेलिएको बताएका हुन् ।
संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति बजेट संशोधनका कारण पर धकेलिएको जानकारी दिंदै बजेटको आकार, प्राथमिकता, स्रोतआदिमा फरक पर्ला भनेर मौद्रिक नीति जारी गर्न ढिलाई गरेको बताए । उनले भने– ‘मौद्रिक नीति ल्याउन हामी तयारी अवस्थामा नै छौं । अध्यादेशमार्फत् आएको बजेटलाई संशोधन गर्ने भनिएको छ । त्यसो हुँदा बजेटको आकार, प्राथमिकता, स्रोतआदिमा फरक पर्ला भनेर मौद्रिक नीति कुरेका हौं ।’
गभर्नर अधिकारीले महामारीको पहिलो लहरमा राष्ट्र बैंकले व्यापार व्यवसाय कसरी जोगाइराख्ने भन्ने नीति बनाएको र दोस्रो लहरपछि रकभरीका लागि प्रयास गरिरहेको बताए । उनले भने– ‘महामारीको तेस्रो लहरको पनि चेतावनी छ, अबको हाम्रो नीति रिकभरी लक्षित हुन्छ ।’
त्यसैगरी गभर्नर अधिकारीले राष्ट्र बैंकले वित्तीय क्षेत्रको राष्ट्रिय रणनीति बनाउन पनि लागेको बताएक । उनले अहिलेको अवस्थालाई देखाउने र आगामी वर्षहरुमा प्राप्त गर्नुपर्ने उपलब्धीसमेत समेटेर रणनीति तयार गर्न लागिएको जानकारी दिए ।
कोभिडबाट अति प्रभावित क्षेत्र होटल, पर्यटन, सार्वजनिक यातायात, मनोरञ्जन क्षेत्रका लागि मौद्रिक नीतिमा विशेष जोड दिने गभर्नर अधिकारीले बताए ।
प्रतिक्रिया