विराटनगर । प्रदेश १ को नाम राख्न नसकेकोमा सबै दलले आत्मालोचना गरेका छन् । प्रदेश सभाको दशौं अधिवेशन तथा पाँच वर्षे प्रदेश सभाको अन्तिम बैठकमा सबै दलले नामाकरण नटुंग्याएकोमा आत्मालोचना गरेका हुन् ।
प्रदेश सभामा बोल्दै नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले पहिलेको आफूले उठाएका मुद्दामा कुनै पनि दलले अडान लिन नसकेको बताउँदै नामाकरण टुंगो लगाउन नसकेको विषयमा जनतालाई जवाफ दिनुपर्ने बताए । यसअघि किराँत शब्द ‘जात’ भन्दै आएका उनले संसदमा भने यो सभ्यता भएको बताए । किराँत सभ्यतालाई तोडमोड गर्दा विवाद भएको उनको भनाइ थियो ।
उनले राजनीतिक दलहरूले लाभहानी हेरेको कारण विवाद बढ्दै गएको बताउँदै नामाकरणको विषयमा जाँदा डुब्ने अवस्था रहेकोले थाँती राखिएको बताए । जिम्मेवारी, साईज र हैसियतअनुसार नाम नटुंग्याएको विषयमा दोषको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
देशलाई संघले पनि असहयोग गरेको आचार्यले बताए । समयमा कानुन, बजेट र योजना भएको भए ५ वर्षमा भएको काम एकै वर्षमा सकिने दाबी गर्दै उनले त्यसमा प्रदेश सरकारहरू चुकेको बताए । यो विषय सिंगो राजनीतिक पार्टीको समीक्षाको विषय हुनुपर्ने उनले बताए ।
यस्तै, कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नामाकरणको विषय दुई तिहाईको सरकारले सजिलो भएपनि ल्याउन नसकेको बताए । उनले नामाकरणको विषय प्रक्रियामा लानै नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
प्रक्रियामा नजाँदा जनताले केही थाहा नपाएको, दलहरूको इच्छाशक्ति नै नाम टुंगोमा पुर्याउने खालको नरहेको कोइरालाले बताए । नाम नटुंगिनुमा आफूहरूको असफलता रहेको भन्दै उनले रोष्टमबाटै जनतासँग हात जोडेर नमस्कार गर्दै माफी मागे ।
नेता कोइरालाले आफूहरू उत्साहका साथ प्रदेश आएको बताउँदै पहिलो कार्यकालमा संरचना निर्माणमा महत्वपूर्ण काम भएको बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका तर्फबाट बोल्दै सांसद धिरेन्द्र शर्माले नामाकरणको विषय जनताको चासो भएपनि गर्न नसक्नु दलहरुको कमजोरी भएको बताए । नामाकरणमा सबै दलले जनतालाई धोका दिइएको बताउँदै उनले पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गर्दा नामको टुंगो लगाउन नसकेको बताए ।
नेता शर्माले प्रदेशसभाले ६४ वटा कानुन निर्माण गरेको भएपनि केही महत्त्वपूर्ण ऐन ल्याउन नसक्नु कमजोरी रहेको बताए । ५ वर्षे कार्यकालमा कोभिड महामारी र नेकपाको विभाजनले देशलाई समस्यामा पारेको बताउँदै उनले गठबन्धनले त्यसबाट मुक्त बनाउने प्रयास गरिरहेको बताए ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट बोल्दै सांसद सरिता थापाले प्रदेशको नामकरण हुन नसकेको जस अपजस दलहरू हैसियतअनुसार लिन तयार हुनुपर्ने बताइन् । उनले उल्लेख्य कानून निर्माणको काम भएको बताउँदै उनले अप्ठ्यारोलाई पनि पार लगाएको बताइन् ।
बैठकमा बोल्दै जसपा संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ मन्त्री जयराम यादवले कहेी ऐतिहासिक काम गरेपनि प्रदेशको नामाकरण नटुंगिदा जनतामा नकारात्मक सन्देश गएको बताए । नाम नटुंगिनुमा यसअघिको नेकपा कालिन सरकार बढी जिम्मेवार रहेको उनको भनाइ थियो । ठूलो दल एमाले भएपनि आफूले भनेकै हुनुपर्छ भन्दा घमण्ड देखाएको यादवको भनाइ छ ।
यस्तै राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुःखद पक्ष रहेको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले संघीयता जहिले पनि पहिचानसहित हुने बताइन् ।




















प्रतिक्रिया