काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स – साफा) द्वारा आयोजित ‘साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।
सन् २०२६ नोभेम्बर २८ तारिखमा बङ्गलादेशको ढाकामा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गलादेशको आतिथ्यतामा आयोजित समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
साफा दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ हो। यस संस्थाले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसअघि बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा आयोजित ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘सिल्भर अवार्ड’ प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस सम्मानले विकास बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
आफ्नो २०औँ वार्षिकोत्सव मनाएको गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विकास बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आइएसओ ९००१:२०१५ तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत आइएसओ/आइइसी २७००१: २०२२ प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस्ता सम्मानबाट आगामी दिनमा थप उत्कृष्ट सेवा प्रदान गर्न एवं संस्थागत सुशासन र वित्तीय पारदर्शिताका उच्च मापदण्ड कायम राख्न थप हौसमा मिलेको बताएकाे छ।



















प्रतिक्रिया