काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले पनि राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता जस्ताको त्यस्तै पारित भएको छ । भदौ २ मा प्रतिनिधि सभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको विधेयक राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो ।
अब यो विधेयक फेरि प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधि सभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी थिइन् ।
२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधि सभाबाट साउन ६ र राष्ट्रिय सभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय प्रतिनिधि सभामा सन्देशसहित विधेयक फिर्ता गरिदिएकी थिइन् ।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन ।




















प्रतिक्रिया