देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन ।
तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन् । यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पुर्याएको महसुस जनतालाई दिलाएका छन् । जनताको सुःख दुःखका सारथी बनेका छन् ।
दोलखाको कालिन्चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिकावासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । यसै पालिकाका अर्जुनप्रसाद शिवाकोटीसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :
कार्यकालको प्रारम्भमा के कस्ता कामहरु अगाडि बढाउनुभएको छ ?
हामी कालिन्चोकमा निर्वाचित भएर आएको तीन महिना वितेको छ । सुरुवाती समयमा हामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बनाउँदैमा व्यस्त भयौं । अहिले हामीले सडकका टेन्डर खुलाएका छौं । कृषि, शिक्षा, स्वास्थ्य, सडक र पर्यटनलाई प्राथामिकतामा राखेर हामीले बजेट बनाएका छौं । अहिले हामी योजना बनाउनेमै व्यस्त छौं । असोज पहिलो हप्तामा हाम्रो योजनाहरुमा काम सुरु हुनेछ ।
जनताको आर्थिक स्तर सुधार्नका लागि हामीले कृषिलाई पहिलो प्राथामिकतामा राखेका छौं । कृषिमा पनि खेतीलाई भन्दा पशुपालनलाई बढी महत्व दिएका छौं । फलफूल र तरकारीको उत्पादनमा वृद्धि गर्ने हाम्रो लक्ष्य छ । कालिन्चोक देशकै प्रमुख धार्मिक स्थल भएकोले हामीलाई आवश्यक पुर्वाधार निर्माण गर्न धेरै बजेट चाहिन्छ । यहाँ हिउँ पर्ने समयमा धेरै पर्यटकहरु आउने भएकोले, हिउँ पर्नु अगावै योजनाहरु सक्नेगरी काम गर्न हामीले प्रयास गरिरहेका छौं । यसमा प्रदेश र संघसँग पनि छलफल र माग गरिरहेका छौं । कालिन्चोक क्षेत्रको व्यवस्थापन राम्रो बनाउन हामी लागिपरेका छौं ।
शिक्षिका सुत्केरी हुँदा तीन महिना बिदा दिने सरकारी नियम छ । तर त्यो तीन महिना कसले पढाउने भन्ने व्यवस्था गरिएको छैन । एक शैक्षिक सत्रमा एक शिक्षकले तीन महिना बिदा लिँदा विद्यार्थीलाई कस्तो असर पर्छ भन्ने सरकारले ध्यान दिएको छैन । त्यसलाई मध्यनजर गरेर हामीले जगेडा शिक्षकको व्यवस्था गरेका छौं । तीन महिना त्यो शिक्षकलाई गाउँपालिकाले तलब दिएर पठनपाठन गर्ने गरी हामीले काम सुरु गरेका छौं ।
हामीले बाँदर आतंक न्यून गर्न ‘एक घर, एक बाँदर’ कार्यक्रम पनि ल्याएका छौं । वन कार्यलयले स्थानीय निकाय चिन्दैन । जिल्लाको डिभिजन वन कार्यलय र स्थानीय तह एक अर्कामा वादी/प्रतिवादी जस्तो भएको छ । हरेक काममा धेरै झन्झटिलो भएको छ । स्थानीय तहले स्थनीयको हितमा काम गर्न वनको ऐनले पनि धेरै समस्या भएको छ । बाँदरलाई मार्न पनि नपाइने नियन्त्रण गर्न पनि नपाइने नियम छ । वर्ष दिन खानका लागि खेती लगायो, सबै बाँदरले खाइदिन्छ । उत्पादन राम्रो नभएपछि खान नपाएर जनता मर्न हुने, तर बाँदर मार्न नपाइने सरकारको यो नीतिले जनता पीडामा छन् । त्यो हुनाले हामीले केही हदसम्म नियन्त्रण गर्न ‘एक घर, एक बाँदर’को नीति ल्याएका हौं । यस्तो कुरामा केन्द्र र प्रदेश सरकार मौन छन् । यसले गर्दा कालिन्चोकमा मात्रै होइन अधिकांश पहाडी जिल्लाका किसान समस्यामा छन् ।
कालिन्चोकमा विकास निर्माणमा के कस्ता चुनौतीहरु छन् ?
हामीले जेठ ९ गते कार्यभार सम्मालेका थियौं । जेठ १० गते नै मैले प्रदेश सरकारका मन्त्रीहरुसँग भेटेर केही योजनाहरु टिपाएको थिएँ । त्यो अनुसार केही योजनामा प्रदेशले बजेट हालेको छ । प्रदेश र संघले योजनाहरु नदिए हामीलाई विकास गर्न निकै कठिन हुन्छ । एउटा विडम्बना के छ भने स्थानीय तहसँग जम्मा ११ प्रतिशत बजेट हुन्छ । प्रदेशसँग १९ प्रतिशत हुन्छ । संघसँग ७० प्रतिशत हुन्छ । त्यसो हुनाले केन्द्र सरकारले योजना हालेन भने केही पनि विकास हुन सक्दैन । हामी केन्द्र र प्रदेशसँग यहाँको आवश्यक्ताहरुको बारेमा जानकारी गराइरहेका छौं । यो कार्यकालमा कुनै वर्ष कम बजेट परे पनि अर्को वर्ष राम्रो योजनाहरु पार्ने हाम्रो प्रयत्न छ ।
हाम्रो पालिका भौगोलिक रुपमा विकट छ । जनताको अपेक्षा धेरै र बजेट कम छ । सडकको अवस्था भद्रगोल छ । भर्खरै वडा नम्बर ५ मा ठूलो पहिरो गएको छ । बाह्रै महिना चल्ने बाटो बनाउनु पर्ने छ । पालिकामा उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन सक्ने अवस्था छैन । पालिकाको बजेट चालु खर्चमै सकिने अवस्था हुन्छ । सिँचाइको र खानेपानीको पनि समस्या छ । सामाकोशीबाट लिफ्टिङ गर्नुपर्ने छ । यसको लागि धेरै बजेट आवश्यक पर्छ । त्यसो हुनाले यहाँको विकास गर्न यस्ता चुनौतीहरु छन् । तर पनि हामी यी चुनौतीहरुको सामना गर्दै कालिन्चोकमा समृद्धि ल्याउन अगाडि बढेका छौं ।
वडा नम्बर ५ मा निकै ठूलो पहिरो गएको छ भन्नुभयो । कालिन्चोकवासीले यो वर्ष बाढी—पहिरोबाट कस्तो समस्या भोग्न पर्यो ?
यो वर्ष पहिरोको कारण कालिन्चोकमा धेरै क्षति भएको छ । वडा नम्बर ८ को सुनखानीमा पहिरोले धेरै खेतमा क्षति भएको छ । वडा नम्बर ५ को लातिलाङमा गत वर्षहरुमा पनि पहिरो गइरहेको ठाउँमा यसपाली फेरि ठूलो पहिरो गएको छ । पहिरोले बाटो अवरुद्ध निरन्तर भइ नै रहेको छ । यो समस्याहरु हाम्रो स्रोत साधनले भ्याएसम्म समाधान गरिरहेका छौं ।
स्थानीय तहमा भएका अनियमितताका कुरा पनि बेलाबेला सुन्ने गरिन्छ । कालिन्चोकमा भ्रष्टाचारलाई हुन नदिन के गर्नु हुन्छ ?
२०७४ को निर्वाचनबाट स्थानीय तहमा साथीहरु जितेर आउनुभयो । केही पालिकाहरुले अनियमितता पनि गरे । गाउँगाउँमा सिंहदरबार पुर्याउने भनियो । तर राजाहरु उत्पति भएको जस्तो हामीले पनि महसुस गरियो । नामको मात्रै सिंहदरबार गाउँगाउँमा आयो, तर स्रोत—साधनले पुगेन । स्रोत साधन र अधिकार नदिएर सिफारिस गर्न मात्रै स्थानीय तहलाई दिएर गाउँ—गाउँमा सिंहदरबार पुग्दैन । स्थानीय तह र प्रदेशलाई संघले कुनै दौड प्रतियोगितामा हात, खुट्टा बाँधेर दौडिन जा, भनेजस्तो भएको छ ।
स्थानीय तहमा भ्रष्टचार भयो भन्ने कुरा एकदमै व्यापक रुपमा उठेको कुरा हो । अरु पालिकाहरुले के गर्छन् मलाई थाहा छैन । तर म हाम्रो कालिन्चोक गाउँपालिकाको यो कार्यकालमा १ रुपैयाँ पनि भ्रष्टचार गर्दिन र गर्न दिन्न । हामीले हरेक काम नियम र प्रक्रिया अपनाएर गर्दा अनियमितता हुन पाउँदैन । म राजनीतिलाई व्यापार बनाउन हुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ । जनप्रतिनिधि बन्नु भनेको बिलकुल समाज सेवा गर्न बनेको हो । यो पाँच वर्षमा म नियममा रहेर काम गर्ने छु । हाम्रो पालिकाको हरेक गतिविधि नियम र प्रक्रियामा हुने छन् ।
स्थानीय तहले बजेट निर्माण गर्दा निमुखा, उत्पीडनमा परेकाहरुको मागलाई वास्ता नगरी टाठा—बाठाहरुको अनुकूल बजेट बनाउँछ भन्ने पनि सुनिन्छ नी ?
तपाईँले एकदमै सही कुरा उठान गर्नुभयो । हामीले यो वर्ष नीति तथा कार्यक्रम बनाउँदा, योजना छनोट गर्दा टोल—टोलमा सबै मान्छेहरु भेला गरेर सबैको आवश्यक्ता टिपोर्ट गरेका छौं । त्यो आवश्यक्ताहरु वडामा लगेर ती मध्येका पनि महत्वपूर्ण आवश्यक्तालाई छनोट गरियो । एकै वर्षमा जनताका सबै अपेक्षा पूरा गर्न सकिँदैन । त्यसो हुनाले हामीले जनतालाई तत्कालै पूरा गर्नु पर्ने मागहरुलाई महत्वमा राखेर बजेट विनियोजन गरेका छौं । हामी यो पाँच वर्षे कार्यकालमा सबै जनतालाई चित्त बुझ्ने गरी काम गर्ने छौं । यो कार्यकालमा कालिन्चोकमा भ्रष्टचार भएन । तर काम राम्रो भयो भनेर जनताले महसुस गर्ने गरी हामीले काम गर्ने छौं ।
अन्तिममा कालिन्चोवासीलाई केही भन्नुछ ?
हामी जनप्रतिनिधि पालिकाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । पालिकाको काममा साथ दिनुहोला । कमि—कम्जोरी औंल्याई दिनुहोला । यही भन्न चाहन्छु ।




















प्रतिक्रिया